विराटनगर/ कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सिमा नाका पूर्ण रुपमा रोक लगाएको बेला चोरबाटो हुदै नेपाल प्रवेश गरेका १५ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल बिओपी रानीले विराटनगर –१७ इश्लामपुर स्थित सिमा नाकाबाट लुकीछिपी नेपाल छिरेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

अहिले नेपालबाट भारत र भारतबाट नेपाल आउने नागरिकहरूको लागि सरकारले प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपती नगरको नाका तोकिएको छ ।

सो नाका बाहेक नेपाल प्रवेश गर्नेलाई सुरक्षामा खटिएको प्रहरीले नियन्त्रणमा लिने गरेको छ । चोरबाटो हुँदै नेपाल प्रवेश गरेको १५ जना भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरी बल बिओपी रानी विराटनगरले नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाएको छ ।