धरान/ निजामतिको आधिकारिक ट्रेड युनियनले कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन नगरेको भन्दै लोकसेवा आयोगबाट नियुक्त भएका देशभरिका कर्मचारीहरू सोमबारबाट आन्दोलित बनेका छन् ।

लोकसेवा आयोगबाट देशभरि ९ हजार एक सय ६१ जना नियुक्त भएका थिए । उनीहरूलाई ट्रेड युनियनको आउन लागेको चुनावमा समायोजन नगरेपछि कालोपट्टी बाँधेर काम थालेका हुन् । कर्मचारी समायोजन ऐनअनुसार समायोजन गर्न माग गरिएको धरान उपमहानगरका बजार अनुगमन अधिकृत समेत रहेका कर्मचारी वेदप्रकाश सापकोटाले जानकारी दिए । आउँदो असोज २४ गते चुनाव हुँदै छ ।

एकै प्रक्रियाबाट स्थानीय तहका लागि नियुक्त भए पनि स्थानीय तहमा रहेका कर्मचारीहरूलाई युनियनको चुनावमा मतदाता बन्न नसक्ने भनेपछि आन्दोलित बनेका हुन् । स्थानीय तहका कार्यरत कर्मचारीहरूले निर्णय गर्दै आन्दोलित बनेका हुन् । चुनावमा सहभागी गराउने वातावरण तयार नभएमा थप सङ्घर्षका कार्यक्रम गरिने जनाइएको छ । थप सङ्घर्षको कार्यक्रमका लागि आज (मङ्गलबार) साँझ जुम छलफलले निर्धारण गर्ने उनले जानकारी दिए ।