विजयपुर । संविधान दिवसको अवसरमा धरानमा रक्तदान तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले धरानको भानुचोकमा आयोजना गरेको कार्यक्रममा १ सय ४ युनिट रगत संकलन भएको स्पोर्टस् एकेडेमी धरानका अध्यक्ष प्रसन्त पाठकले जानकारी दिए । उनले अस्पतालमा रगतको अभाव भइरहेको बेला केहि राहत मिल्ने बताए ।

स्वास्थ्य परामर्श १ सय ८१ जनाले लिएका थिए । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्त रोग तथा जनस्वाथ्य विज्ञ डा. प्रज्वल गजुरेलको संयोजकत्वमा सबै रोग सम्बन्धि परामर्श दिइएको थियो ।
सोहि कार्यक्रममा सेवक अभियानले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै स्थानीय १२ वटा जडिबुटीबाट बनाइएको काडा (झोल) पनि वितरण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेले संविधान जारी भएको ५ वर्ष पुगेपनिे जनताको इच्छा र आकाङ्क्षा अनुसार कार्यन्वयन हुन नसकेको बताए । कार्यक्रममा धरान उपमहानगरकी उप–प्रमुख मञ्जू भण्डारी, प्रदेश सभा सदस्य सावित्री जोशी, सर्वध्वज साँवा, नेकपा नेता आईन्द्र विक्रम बेघा लगायतको उपस्थिति रहेको थियो ।