धरान । धरान उपमहानगरपालिका वडा नं.–११को मङ्गलबारे नजिकै डेरागरी बस्ने ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

एक सातादेखि ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएका उनको सोमबार बेलुकी मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनी बीपी प्रतिष्ठानकै ल्याबका पूर्व कर्मचारी हुन् । धरान ११का वडाअध्यक्ष बाबुलाल लामाका अनुसार मृत्यु हुनुअघि उनमा निमोनिया भएको आशंका गरेर स्थानीय मेडिकलका सञ्चालकले रगत समेत लिएका थिए । मेडिकल सञ्चालकले मङ्गलबार मेडिकल खोलेर औषधी विक्री गरेका थिए । सङ्क्रमण फैलिन सक्ने सम्भावना बढेकाले वडा नै सिल गर्ने कि भन्ने विषयमा वडावासीसँग छलफल गरिरहेको वडाअध्यक्ष लामाले बताए । उनले भने, ‘सिल गर्दापनि धेरै समस्या हुन्छ भन्ने कुरा आईरहेको छ । के गर्ने भन्ने निर्णय हुन बाँकी छ ।’

कोरोना सङ्क्रमणबाट दुई दिनअघि धरान–१७का आमा छोराको निधन भएको थियो भने त्यसअघि धरान–१५का दुई पुरुष र एक महिनाको निधन भएको थियो । धरानमा हालसम्म सङ्क्रमितको सङ्ख्या १७३ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्यशाखा प्रमुअ उमेश मेहताले बताए । उनका अनुसार मङ्गलबार धरानका मृतकसहित ३ जनामा कोरोना पुष्टि भएको छ ।