इनरुवा / सुनसरीको इनरुवाबाट स्वाब संकलन गरिएका २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पीसीआर परीक्षण गरिएका २ सय १० जना मध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा जिप्रका इनरुवाका प्रहरी निरीक्षक सहित ४ प्रहरी समेत छन् । पोजेटिभ रिपोर्ट आउनेमा इनरुवा ५ बलाहाका १२ जना रहेका छन् । जसमध्ये एकजना प्रहरी हुन् भने बाँकी सबै स्थानीय ।

त्यसैगरी पोजेटिभ रिपोर्ट आउने अन्यमा होल्डिङ एरिया र वडा नम्बर ६ ठेगाना उल्लेख भएका १–१ जना रहेका छन् । त्यस्तै वडा नम्बर ७ का २ जनामा कोरोना पुष्टि भएको छ । वडा नम्बर १ र २ का २–२ जनामा समेत संक्रमण पुष्टि भएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

स्वास्थ्य शाखा इनरुवाका अधिकृत सन्तोष देवका अनुसार वडा नम्बर ४ का ३ जनाको समेत रिपोर्ट पोजेटिभ आएको छ । उनका अनुसार अझै २१ जनाको रिपोर्ट प्राप्त भैसकेको छैन् । समुदाय स्तरमा कोरोना परीक्षणको दायरा बढाएको इनरुवा नगरपालिकाले हरेक वडामा परीक्षण गरिरहेको छ ।