पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे–२ देवीगञ्जका ६५ वर्षीय पुरुष विरामी भएपछि विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको परिवारका अनुसार अस्पतालले सुरुमा डेङ्गु भएको बताएको थियो तर भदौ १३मा उनको निधन भयो ।

निधनपछि जाँच गर्दा कोरोना सङ्क्रमण भएको रिपोर्ट आयो । उनको निधनपछि छिमेकीहरु त्रसित बने । मृतकका परिवारलाई टाढा बसेर सहानुभूति दिन पनि छिमेकीहरु डराए । मृतकको १३ दिने काजकिरियाका लागि दैनिक कर्म गराउने पुरोहित समेत आउन मानेनन् । एकातिर आफन्त वितेको पीडा, अर्कातिर छिमेकीहरुको व्यवहारले दोहोरो पीडामा पर्यो यो परिवार ।

सोमबार पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति सदस्य यमुना विष्ट बास्तोला, समितिका सदस्य एवम् पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, समिति सदस्य चन्द्रकुमार राई सहितको टोली पीडित परिवारलाई भेट्न उनीहरुको घरमै पुग्यो । टोली समक्ष पीडित परिवारले टाढा बसेर सहानुभूति दिन समेत छरछिमेकीहरु त्रसित बनेको गुनासो गरे । उनीहरुले नगरपालिकाको टोली आउँदा आफुहरुलाई दुःखलाई सहने शक्ति मिलेको बताए । उनीहरुलाई अस्पतालले डेङ्गु भनेर उपचार गरेको तर मृत्युपछि कोरोना पोजेटिभ रिपोर्ट आएकोमा चित्त बुझेको छैन । नगर उपप्रमुख बास्तोलाले सामाजिक दूरी कामय गरेर एकापसमा नछाइनै परै बसेर पिडीत परिवारलाई सहानुभूति दिँदै सहयोग पुर्याउन स्थानीयलाई अनुरोध गरिन् ।

काजकिरिया गर्न पुरोहित नपाएका उनीहरुलाई सोमबारै स्थानीयले पुरोहितको प्रवन्ध समेत गरेका छन् । भौतिक दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाई परैबाट काजरियाको दैनिक कर्म गर्न पुरोहितहरु तयार भएका छन् । त्यसकालागि ३ जना पुरोहितको प्रबन्ध भएको स्थानीय सरोज तिम्सिनाले बताए ।

सुन्दर वस्तीमा राहत वितरण
यसैबीच, पथरीशनिश्चरे–१ स्थित सुन्दर वस्तीका ७६ घर परिवारलाई सोमबार नगरपालिकाले राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

सुन्दर वस्तीका एकजनामा कोराना भाइरस देखा परेपछि आइतबारबाट सो वस्तीलाई नै शिल गरिएकाले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत उपलब्ध गराइएको हो । सोही टोलकी वडा सदस्य रोमान्सी धिमाल सहितको उपस्थितीमा नगरमा मौज्दात रहेको राहत सामग्रीबाट प्रति परिवार १० किलो चामल, १ किलो नून र आधा लिटर खानेतेल वितरण गरियो ।

समितिले भदौ १७ सम्म घोषित लकडाउनलाई कडाइका साथ पूर्ण पालना गर्न अनुरोध गर्दै सोही अवधिसम्मका लागि १ जना सङ्क्रमित देखिएको सुन्दरबस्तीलाई पुरै सिल गरिने निर्णय गरेको छ ।