कुनै जाति वा वर्गको मातृभाषा अर्थात् मुखारविन्दबाट निस्केको शब्द, वाणी वा वचनलाई नै बोली भनिन्छ । सामाजिक तथा विवेकशील प्राणी भनेर मानिसलाई चिनिने हुँदा उसलाई मात्र बोध हुन सक्ने बोली बोल्न सक्छ । जन्मदादेखि नै उसले बोल्ने शैली र व्यवहार पक्कै सिकेको हुँदैन तर विस्तारै सिक्दै र बुझ्दै जाने कुरा पनि हुन् ।

हरेक मानिसलाई असल बन्ने नै इच्छा हुन्छ तर उसले कति कोशिस गर्दा पनि आफ्नो बोली, वचन र व्यवहारलाई परिवर्तन गर्न सकेको हुँदैन, त्यसको कारण हो, गलत सङ्गत र विचार परिवर्तन गर्न नसक्नु । प्रत्येक मानिसले आफूलाई सभ्य, शिष्ट र असल बनाउन उसले बोल्दा प्रयोग गर्ने शब्दमा भर पर्छ । शब्दमा यति ठूलो तागत हुन्छ कि जसले तपाईंको दुःख मेटाइदिन सक्छ भने खुसी खोस्न पनि सक्छ । शब्दले नै तपाईंको सम्बन्ध तोड्न पनि सक्छ र जोड्न पनि सक्छ । शब्दले तपाईंको हरेक काममा सफलता दिलाउन अर्थात् सफलता प्राप्त गर्नमा मद्दत गर्न सक्छ त पराजय बेहोर्नु पर्ने पनि हुन्छ । जिन्दगी बनाउन र भत्काउन तपाईंले बोल्ने शब्दमै भर पर्छ । त्यसैले तपाईं हाम्रो जीवनमा बोलीले ठूलो प्रभाव पार्ने गर्छ ।

तपाईले बोल्नुपूर्व अरूले बोलेको कुरालाई ध्यान दिएर सुन्न आवश्यक देखिन्छ । कुराकानी गरिएको स्थानमा नबुझी प्याच्च बोल्दा अरूको नजरमा तपाईं गिर्नुहुन्छ । त्यसैले प्रतिक्रिया दिनुभन्दा पहिला स्पष्ट सुन्ने र बुझ्ने बानीको विकास गर्नु पर्दछ । शिष्ट भाषा तथा शब्दको प्रयोग गर्नाले तपाईं सँगसँगै गाउँ, समाज र राष्ट्रको उच्च स्थान रहने हुन्छ ।तपाईले जे बोल्नु हुँदैछ, जुन व्यवहार गर्नु हुँदैछ, त्यो समाजले नियालिरहेको हुन्छ । त्यसकारण तपाईं पहिले आफ्नो व्यवहारमा असल र सकारात्मक बन्नुभयो भने अरूलाई पनि परिवर्तन गर्न गराउन सकिन्छ । आफूलाई बुज्रुक सम्झने, ठूलो आवाज गरेर आफ्नो परिचय दिने मान्छे समाजमा थुप्रै भेटिन्छन् तर त्यस व्यवहारले उसलाई नै नकारात्मक प्रभाव परिरहेको चाहिँ पत्तै हुँदैन ।

एउटै कुरालाई कसैले चर्को स्वरमा बोल्छ त कसैले सानो स्वरमा, सानो र ठूलोभन्दा पनि ठिक्कसँग नम्र भएर बोल्नु चाहिँ उत्तम मानिन्छ । तपाईंको शब्द वा बोली एउटा ठूलो हतियार हो,जुन हतियारले व्यक्ति, समाज र राष्ट्रलाई परिवर्तन गर्न सकिन्छ । शब्द जादु पनि हो किनकी तपाईंले बोलेको बोलीले हसाउँछ, रुवाउँछ अनि नचाउँछ पनि । बोल्ने शैली तपाईंको कला हो । ठाउँ, समय र परिस्थितिअनुसार नलजाई, नधकाई निर्धक्क भएर आफ्ना विचार राख्नुहोस्, तपाईंलाई हरेक व्यक्तिबाट सम्मान मिल्नेछ । ठूल्ठूला विज्ञहरूलाई आफूतिर आकर्षित गराउने चिज तपार्इंभित्रै हुन्छ ।

त्यो तपाईंको बोली हो । तपाईंको बोलीकै कारण अरूको मन मस्तिष्कमा बस्न सक्नुहुन्छ तर तपाईंले बोल्ने शब्द वा बोलीलाई सानो कुरा सम्झनु हुन्छ भने त्यो तपाईंको भूल हो, जानेर पनि भूल गर्नु हुँदैन । आज संसारमा जति पनि महान् व्यक्तिहरू बन्न सफल भएका छन् नि त्यो सबै उनीहरूको बोली र असल व्यवहारले नै हो । तपाईं असल, योग्य, सफल र सम्मानित व्यक्ति हुन पहिले सङ्धकीर्ण सोचलाई त्याग्नु अति जरुरी छ । तपाईंको बोलीले अरूलाई आफूतिर प्रभावित पार्न यी निम्न केही कुरालाई ध्यान दिन आवश्यक देखिन्छः

१. तपाईंको बोल्ने शैलीलाई ध्यान दिनेः
आफूले बोल्दा चर्को र अति सानो गरी बोल्नुभन्दा पनि नम्र र शिष्ट भाषामा बोल्ने ।

२.शब्द वा बोलीमा भावना मिसाउनेः
दिल छुने गरी परिस्थितिअनुसार बोलीमा भावना मिसाएर बोल्ने ।

३. कुनै भाषाको किताबलाई उच्चारण गरी पढ्नेः
चिच्याएर होइन, विस्तारै उच्चारण गरी पढ्दा तपाईंको स्पष्टसँग भाषामा सुधार आउँछ ।

४. नम्र वा मीठो आवाज बनाउन हरेक दिन प्राणायम, व्यायाम गर्नेः
लामो सास लिने अनि विस्तारै बाहिर फाल्ने, ध्यान गर्ने, ८–१० पटक ओम (ॐ) उच्चारण गर्ने, जसले आवाजमा केही निखारपन ल्याउन मद्दत गर्छ ।

५.आफूमा बढी ज्ञान भएको शीर्षकमा बोल्नेः
आफूलाई ज्ञान नभएको विषयवस्तुमा बोल्नु त्यति उचित हुँदैन । अरूका कुरा सुन्ने अनि मात्र बोल्ने ।
बोल्दा वा कुरा गर्दा यी कुरालाई पनि हेक्का राख्नु पर्छः

१. लजाउने वा सर्माउने गर्नु हुँदैन,

२. आत्म विश्वासको कमी हुन नदिने,

३. महत्वपूर्ण कामबाहेक बढी नबोल्ने,

४. अरूको बारेमा बढी र आफ्नो बारेमा कम कुरा गर्ने ।
धेरै भन्दा पनि के र कसरी बोल्नुभयो भन्ने कुरा महŒवपूर्ण हुन्छ । त्यसैले बोल्दा तपार्इंको व्यक्तित्व बढोस्, तपाईंको प्रशंसा होस् । अनि तपाईंलाई सकारात्मक रूपमा हेरोस् भन्ने हो । तपाईंका सयौं राम्रा कुरा एक खराब शब्द वा बोलीले तपाईंको राम्रा विशेषता गुम्न सक्छन् । त्यसकारण बोलीले मानव जीवनमा धेरै प्रभाव पार्न सक्ने हुँदा बोल्दा ख्याल गरेर बोलौँ । कटु वा छुद्र वचनले अरूको दिल दुख्छ, दिल दुखाउनु सबैभन्दा ठूलो पाप पनि हो । किनकी अरू बाहिरी भागमा चोट लाग्दा औषधि गर्दा निको होला तर दिल या भित्री मन दुखाउँदा शान्ति मिल्दैन ।

त्यसकारण शान्ति प्राप्त गर्नका निम्ति पनि तपाईंले मीठो वचन गर्नु जरुरी छ । मान्छे वर्ण, जात, धर्मले होइन, उसको क्षमता, बोल्ने कला, गला र व्यवहारले चिनिन्छ । आफ्नो घरपरिवार, अफिस, विद्यालय आदि क्षेत्रमा बालकदेखि वृद्धसम्मका मानिससित बोल्दा कसरी बोल्ने ? ठाडो भाषाको प्रयोग गर्ने ? रिसाएर, झन्किएर बोल्ने ? या सभ्य भएर नम्ररूपमा प्रस्तुत हुने त्यो तपाईंमा भर पर्छ तर सबैखालका मानिससित सुमधुर सम्बन्ध जीवित राख्न चाहनुहुन्छ भने आफूभित्रको अहम्ता हटाई सभ्य र शिष्ट बन्न सक्नु पर्छ । दया, माया, आदर, सम्मान जस्ता कुरालाई व्यवहारमा उतार्ने कोशिस गर्नुपर्छ, जसले तपाईंको जीवनमा परिवर्तन ल्याउन सक्छ । बालकदेखि वृद्धसम्मका मानिसलाई अनादर होइन, सकेसम्म मध्यम् आदरको प्रयोग गर्नुपर्छ । यी सारा कुरा तपाईंको बोलीमा निहित हुने हुँदा आफूले सत्य, शिष्ट र नम्र वचनको प्रयोग गरेर बोल्नु पर्दछ ।

पहिले त आफूले आफैलाई चिन्न सक्नु पर्छ, नत्र तपाईले कसैलाई पनि चिन्न सक्नु हुन्न । आफूमा भएका कुभाव, कुविचार र बोल्ने कटुभाषा हटाएर जिउन सिक्नु पर्छ ।

–वराहक्षेत्र–५, सुनसरी