धनकुटा/ भारी वर्षाको कारण कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक–खण्डको खुरिलामा १८ वर्षपछि फेरि सडक भासिएको छ ।
भारी वर्षाका कारण धरान–धनकुटा सडक– खण्डको खुरिलामा सडक भासिएको हो । यसअघि २०५८/५९ सालमा उक्त सडक सोही स्थानमा भासिएको स्थानीयले बताएका छन् । धनकुटा नगरपालिका वडा नं. ९ को खुरिलामा पर्ने सो सडक करिब १ सय मिटर जति भासिएको छ । सडक भासिएसँगै भारी गाडी आवत– जावत गर्न दिन प्रतिदिन जोखिम बढेको छ ।
स्थानीय बासिन्दा गङ्गाबहादुर आलेले हजारौं सवारी साधन गुड्ने सडक भासिएको कारण जोखिम बढेको बताए । हालसम्म सडक डिभिजन कार्यालय धनकुटाले भासिएको सडकमा मर्मत गर्न ध्यान नपु¥याएको आलेले गुनासो गरेका छन् । शनिबार बिहानसम्ममा सडक साविकको स्थानबाट करिब ३ मिटरभन्दा बढी भासिएको अवस्था छ ।
उनले सडक भासिएको स्थानमा कमेरे माटो र पानी उम्रिने क्षेत्र भएकोले नियमित वर्षाले गर्दा सडक भासिने क्रम नरोकिएको बताए । सडकको भित्तातर्फ माथिदेखि नै जमिन सोहोरिएर आएकाले सडकमाथिको बस्तीलाई समेत जोखिम बढेको गङ्गाबहादुरले बताए । सडक भासिएसँगै सो सडकको छेउतर्फ गाडिएका ३–४ वटा विद्युत्का पोल पनि ढल्ने अवस्थामा पुगेको छ ।
सडक भासिन थालेसँगै विद्युत्का पोल समेत बाङ्गिएका छन् । विद्युत्का पोल ढल्नुअघि नै स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ । कोरोनाको कारण धनकुटा लकडाउन भए पनि कोशी लोकमार्गमा सावारी साधन निर्वाध रूपमा चलिरहेको र रातको समयमा बढी मात्रामा भारी गाडी गुड्ने भएकाले पनि जोखिम बढेको छ । विद्युत्को ढल्किएको पोल हटाउन हालसम्म विद्युत् प्राधिकरणको नजर नपरेको स्थानीय लक्ष्मण मगरले बताए ।
उता डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानबहादुर शाक्यले खुरिला सडक– खण्डमा लामो समयपछि सडक भासिएको जानकारी दिए । उनले आफू अफिसको कामले काठमाडौंमा रहेको र केही दिनमा धनकुटा आएपछि सडक भासिएको स्थानमा वैकल्पिक मार्गको पहिचान गर्ने बताए । उनले २०४० सालमा धरान–धनकुटा सडक निर्माण गर्दा सो स्थानमा काम गर्ने इञ्जिनियरले हार खाएको स्मरण गराए । धरान–धनकुटा ५२ किलोमिटर सडक निर्माण गरिसकेर अन्तिममा मात्र सो स्थानमा सडक पिच गरेर छाडेको पनि शाक्यले बताए ।
‘धरान–धनकुटा सडक निर्माण भएको करिब ४० वर्षको अन्तरालमा सो स्थानमा धेरै पटक सडक भासिएको र यसै क्रममा पछिल्लो १८ वर्षपछि पुनः खुरिलामा सडक भासिएको छ’–शाक्यले भने । उनले अब अरू विकल्प नभएकोले सडकलाई माथिल्लो भागको अवस्था हेरेर भित्ता तासेर सडक एकतर्फी चल्ने बनाउनेतर्फ कार्यालयको ध्यान जाने बताए । केही दिनमै खुरिलाको भासिएको सडकलाई वैकल्पिक उपाय लगाएर जोखिमबाट बचाउने शाक्यले दाबी गरेका छन् ।
नियमित रूपमा वर्षा भइरहेकोले कोशी लोकमार्गको दर्जनौं स्थानमा पहिरोको कारण सडक अवरुद्ध हुँदा यात्रा गर्न चुनौती कायम नै रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । कोशी लोकमार्गको विशेष गरेर घण्टे, गर्जुवा, लेउती, लाबरबोटे, मूलघाटमाथिको ११ गोलाइ, रुद्रबारी र सल्लेरी वनक्षेत्रमा पर्ने सडक–खण्डमा वर्षायाममा पहिरोको कारण यात्रा गर्न जोखिम रहेकाले सचेत भएर यात्रा गर्न समेत डिभिजन प्रमुख शाक्यले सवारी चालकहरूलाई आग्रह गरेका छन् ।
यसअघि मूलघाट माथिको ११ गोलाइमा पर्ने रुद्रबारी जङ्गलको ७ नम्बर गोलाइमा पनि करिब ५० मिटर जति सडक भासिएको छ । उक्त सडक निर्माणमा पनि हालसम्म सडक डिभिजन कार्यालय धनकुटाको दृष्टि पुगेको छैन ।