भद्रपुर /  करदाताबाट राजस्व असुल गर्दै आएको कर कार्यालयले सामान्य सुरक्षा मापदण्ड समेत नपनाउदा कोरोना सङ्क्रमण फैलिने सम्भावना देखिएको छ । झापा भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयमा आउने सेवाग्रहीको बारेमा अलिकती पनि ध्यान नदिएर कार्यालयले लापरबाही गरेको पाइएकोे हो ।

सरकारले लकडाउनलाई केही खुकुलो वनाए पछि राजस्व असूली गर्न शुरु गरेको कार्यालयले सेवाग्रहीको व्यवस्थापन नगर्दा सेवा लिन आउनेले एकातिर दुःख पाइरहेका छन् भने अर्कोतर्फ सामाजिक त के व्यक्तिगत दूरी कायम गराउनसमेत सकिरहेको छैन । राजस्व विभागले मदिरा र सुर्तीका व्यवसायीले साउन मसान्तसम्म कर तिरीसक्नु पर्ने परिपत्र जारी गरेपछि अन्य करदाता पनि अतालिएर आएपछि अस्तव्यस्त बनेको हो ।

आएका सेवाग्रहीलाई कार्यालय कर्मचारी र सुरक्षा गार्डको वेवास्ताका कारण अस्तव्यस्त बनेको छ । सवारी चढेर आएका चिनजान र ठूला करदातालाई गेट खोलिदिने र अन्यलाई सवारी प्रवेश निषेध छ भन्दै फर्काउने वाहेक कार्यालयमा राखिएका सुरक्षागार्डले केही गरेको देखिएन । मूल गेटमा हातधुने ,स्यानिटाइजर , र थर्मलगन (ज्वरो नाप्ने) यन्त्र समेत प्रयोग गरिएको थिएन । राजस्व तिर्न ठेलामठेल भएर लाइनमा वसेका सेवाग्रहीलाई परिचालित सुरक्षाकर्मी र कर्मचारी समेत चुपचाप बसेका थिए ।
सोधपुछका लागि राखिएको हेल्प डेक्समा वसेका कर्मचारीलाइ पटक – पटक सेवाग्रहीले जानकारी लिदा समेत वेवास्ता गरेका थिए । मूलगेट बाहिर टेवल कु्र्सी राखेर दलालीले काम गरिहेका थिए ।

कोरोना रोकथामका लागि सरकारले करोडौँ रकम विनियोजन गरे पनि राजस्व कार्यालयको लापरबाहीले कोरोना सङ्क्रमण फैलाउने निश्चित भएको कार्यालय परिसरमा भेटिएका बुद्धशान्ती १ का दीपेन्द्र सङ्ग्रौलाले बताए । चोक–चोकमा गाउँका मान्छेलाई मास्क लगाउने भनेर सवक सिकाउने प्रहरी प्रशासन तर आफ्नै कार्यालयमा कार्यान्वयन गर्न नसक्ने उनले भने । कोरोना सार्ने कर कार्यालय भएको उनले बताए । ऋण लिएर व्यापार गरेपछि बैकले बारम्बार फोन गरेका कारण मात्र कर तिर्न कार्यालयमा आउनु परेको उनले जनाए । सामाजिक दूरी अलिकती पनि कायम नगरेको अर्का सेवाग्रही मेचीनगर १ का तिलक पूरीले बताए । सवै क्षेत्रबाट आएका सेवाग्रही जम्मा हुने भएकोले कोरोना सर्ने सम्भावना बढेर गएको उनको भनाइ छ । नजानेको कुरा जानकारी लिदा कर्मचारीबाट नपाउने गरेको उनको आरोप थियो ।

कार्यालयको चरम लापरबाहीका कारण आउने सेवाग्राहीले दुःख पाइरहेको उनले गुनासो गरे । कार्यालय परिसरमा भेटिएका यी दुई पात्र मात्र हुन् । विहान कार्यालय समयसँगै आएका हल्दीबारीका सेवाग्राही चार घण्टा लाइनमा बसे पनि काम नभएको बताएका थिए । कार्यालयमा आएका प्रायः सवै सेवाग्रहीले गुनासो सुनाएका थिए । स्यानिटाइजर नभएको र थर्मल गन पनि विग्रिएको मूलगेटमा बसेका सुरक्षागार्डले बताए । गेट खोल्ने र बन्द गर्ने काम मात्र गर्दै आएको उनको भनाई थियो । साउन मसान्तसम्म मदिरा र सुर्तीका व्यवसायीले कर तिर्नु परेकोले भिडभाड अध्याधिक बढेको होटल व्यवसायी सङ्घ झापाकी सचिव कल्पना मिश्रले बताइन् । सामाजिक दूरी कायम गरेर काम गर्नु पर्नेमा सो नभएको उनको बुझाइ थियो ।
सामाजिक दूरी कायम गरेर नै काम गरिरहेको कार्यालयका सूचना अधिकारी प्रकास राइले दाबी गरे । कार्यालयमा भएका विषयका बारेमा जानकारी गराउँदा थर्मलगन विग्रिएको, स्यानिटाइजर सकिएकोवारे आफुलाई जानकारी नभएको उनले बताए ।
कर कार्यालय मात्र नभइ नापी ,मालपोतमा समेत सामाजिक दूरी कायम नगरी लापरबाहीपूर्वक कार्यालय सञ्चालन भइरहेको पाइएको थियो । कार्यालयको अस्तव्यस्तका बारेमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरलाइ जानकारी गराउँदा सम्बन्धित कार्यालय प्रमुखलाइ तत्काल जानकारी गराउने जवाफ दिए ।