विराटनगर । प्रदेश १ का उच्च पदस्त एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । विराटनगर– ५ स्थायी ठेगाना भएका न्याय क्षेत्रमा काम गर्ने उनीका तीन जना सदस्यलाई समेत कोरोना पोजेटिभ देखिएको थियो ।
ती व्यक्तिलाई १०÷१२ दिनअघि सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा लाने भएको छ ।
आचार्यलाई कहाँबाट संक्रमण फैलिएको भन्ने विषयमा अध्ययन शुरु गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार उनीसँगै कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ प्रहरी कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ।
यसैगरी विराटनगर महानगरपालिका ७ का ४ जना र विराटनगर ६ का १ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । महानगरपालिकाले संकलन गरेको स्वाबबाट विराटनगर ७ की ३० र ३६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ। सोही वडाका २५ र ४५ वर्षका पुरुष र वडा नम्बर ६ का २४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
कोशी अस्पतालमा कार्यरत थप दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ । योसँगै महानगरपालिकामा १ सय ३८ जनामा संक्रमण भएको छ ।