धरान/ प्रदेश १ का सुनसरी, मोरङ र झापा कोरोनाको हब बन्न सक्ने सङ्केत देखिएपछि चिकित्सकहरूले सर्वसाधारण आफैँ सचेत, सजग र सतर्क रहन आग्रह गरेका छन् ।

पछिल्लो समयमा ट्राभल हिस्ट्री (घुमघाम इतिहास) नै नभएका व्यक्तिहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि समुदायस्तरमा सङ्क्रमण फैलिएको बताउँदै चिकित्सकहरूले सजग रहन आग्रह गरेका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीव शर्माले अहिलेसम्म कोरोना भाइरस विरुद्धको खोप र निदान गर्ने औषधि पत्ता नलागेकाले सङ्क्रमण हुनबाट बच्न आफै सजग हुनु पर्ने बताए । उनले भने, ‘कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको छ । सङ्क्रमण हुनबाट बच्न सामाजिक दूरी कायम गरेर फेसमास्क लगाउनु पर्छ । भिडभाडमा जानु हुँदैन ।’

समुदायस्तरमा कोरोना फैलिनुमा मानवीय लापरबाही मुख्य कारण रहेको उनले बताए । सामान्य व्यक्तिलाई सम्झाई बुझाई गर्दा मान्ने गरेका छन् तर शिक्षितहरूले भने भनेको नसुन्ने, नटेर्ने, नपत्याउने, सामाजिक दूरी कायम नगर्ने, मास्क पनि नलगाउने, जथाभावी भिडभाड गर्ने गरेकाले लकडाउन खोलिएपछि समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको डा. शर्माले बताए ।

उनले भने, ‘सामान्यतः सामाजिक दूरी कायम गर्ने हो र फेसमास्क प्रयोग गर्ने हो भने सजिलै सर्दैन तर कसैले भनेको सुने पो । कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएकाले लकडाउन गर्नु जरुरी छ । त्यसपछि जोखिम क्षेत्र पहिचान गरेर पीसीआर परीक्षणको दायरा बढाउनु पर्छ ।’

प्रतिष्ठानका प्रवक्तासमेत रहेका मानसिक रोग विभागका प्रा. डा. निदेश सापकोटाले विराटनगर महानगर र इनरुवा नगरपालिका लगायतले कडाइका साथ लकडाउन लागू गरेको तर धरानमा स्थानीय स्तरमै सङ्क्रमण फैलिए पनि लकडाउन गर्ने निर्णय गर्न ढिलाइ भएको बताए । उनले भने, ‘प्रतिष्ठानको आवासीय क्षेत्र, तीनकुने औद्योगिक क्षेत्र, जिरोपोइन्ट, धरानको बाझगरालगायतमा ट्राभल हिस्ट्री नभएकाहरूमा सङ्क्रमण देखिन धरानको लागि खतराको सङ्केत हो ।’

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन थालेपछि सुनसरी, मोरङ लगायतका स्थानीय तहहरूले रेन्डम स्याम्पलिङ विधिअनुसार पीसीआर परीक्षण गर्ने तयारी गरेका छन् । यसैबीच प्रदेश १ मा आइतबार २७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितहरू मध्ये २२ जना पुरूष र ५ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा सबैभन्दा बढी मोरङमा १६ जना र सुनसरीमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा विराटनगरमा ४ महिला र ८ पुरूषमा सङ्क्रमण देखिएको छ । सुनसरीमा सबैभन्दा धैरै धरानमा १ महिला र ८ पुरूष गरी ९ जनामा सङ्क्रमण देखिएको छ ।

धरानमा देखिएका सङ्क्रमित मध्ये ४ जना धरान–१३ का सङ्क्रमित युवाले काम गर्ने धरान–८ स्थित धरान औद्योगिक क्षेत्रको प्रितिभल्वका कर्मचारी र तिनका परिवार रहेको खुलेको छ । बाँकी ४ जना धरान–१७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइनमा बसेका भारतीय गोर्खा सैनिकहरू रहेका छन् । ती भारतीय गोर्खा सैनिकहरू साउन १५ गते पूर्वोत्तर भारतको मणीपुरबाट बिदामा धरानस्थित घर आउने क्रममा क्वारेन्टिनमा बसेका थिए ।