धरान /  विभिन्न समस्याबाट गुज्रिँदै आएका पीडितहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको होप धरानले मङ्गलबार दुई जना पीडितहरूलाई आर्थिक सहयोग गरेको छ ।
विराटनगरको न्यूरो अस्पतालमा उपचाररत धरान–८ की प्यारालाइसिस बिरामी खुसी लिम्बूलाई होप धरानको समन्वयमा ५ हजार रुपैयाँ सहयोग गरिएको हो । आर्थिक रूपमा विपन्न लिम्बूलाई ज्योति झाले ३ हजार ५ सय रुपैयाँ र मीरा लिम्बूले एक हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।

त्यस्तै धरान–३ की सम्झना राईको पेटमै बच्चाको मृत्यु भएपछि शल्यक्रिया गर्नुपर्ने भए पनि रकम अभावमा उपचार हुन नसकेपछि होप धरानको समन्वयमा १२ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । जसमा होप धरानकी सदस्य कला पाठकले ५ हजार ५ रुपैयाँ, दक्षिणा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विद्या शाक्यले ५ हजार रुपैयाँ र सीता मगरले २ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

राई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन् । उनको पेटमै शिशुको ज्यान गएपछि रकम अभावमा शल्यक्रिया गर्न सकेकी थिइनन् । फेसबुकमार्फत् मङ्गलबार बिहान मात्रै थाहा भएपछि साथीभाइहरूलाई गुहारेको होप धरानका संयोजक निश्चलमोहन पलिखेले जानकारी दिए । उनले सहयोगी हातहरूलाई धन्यवाद दिए ।

यसैबीच होप धरानले आदिवासी पत्रकारहरूलाई सम्मानित गर्ने उद्देश्यले स्थापित कोषमा एक हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (फोनिज) सुनसरीले रकम सङ्कलन गरिरहेको छ ।