• धनबहादुर पुरी

इटहरी/ नेपाल प्रहरीभित्र वर्दीलाई शान, रवाफ देखाउन, फूर्ति लगाउन सामाजिक सञ्जालमा प्रयोग हुन थालेको निष्कर्ष निकाल्दै प्रदेश १ प्रहरीले कडाइ गर्न थालेको छ । वर्दीसहितका तस्बिरहरू सामाजिक सञ्जालमा राख्न थालेको भन्दै अहिले प्रहरीले कडाइ गर्न थालेको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले वर्दी लगाएको तस्बिर सामाजिक सञ्जालमा बिनाअर्थ प्रयोग नगर्न सर्कुलर जारी गरेको छ । वर्दीको सामाजिक सञ्जालमा दुरुपयोग बढ्दै गएको उल्लेख गर्दै कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ । वर्दीको दुरुपयोग हुने र मर्यादा घट्ने गरी तस्बिरहरू सामाजिक सञ्जालमा नराख्न चौकी स्तरसम्मका कार्यालयहरूलाई निर्देशन भएको प्रदेश प्रहरीका प्रहरी प्रवक्ता दीपक पोखरेलले बताए ।

मोरङको इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत दुई प्रहरी टिकटक बनाएको विषयलाई लिएर छानबिनको दायरामा तानिएका छन् । विवादित तवरबाट वर्दीमै टिकटक बनाएर फेसबुकमा पोष्ट गरेकाले कारबाही अघि बढाउन हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन शुरु गरिएको प्रदेश प्रहरीका प्रवक्ता पोखरेलले बताए ।

प्रहरी सङ्गठनको आचरण र मर्यादा विपरीत गतिविधि गर्दै सोनाम र राईले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि कारबाही शुरु गरिएको प्रहरीको भनाइ छ । टिकटक बनाउँदा उनीहरूले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकीटकी) पनि राखेका छन् । उक्त टिकटक प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका विपरीत हो ।

उनीहरूले कुन गीत वा डाइलगमा टिकटक भिडियो बनाए भन्ने कुरा मोरङ प्रहरीले गोप्य राखेको छ । दुईजना मिलेर बनाएको टिकटक फेसबुकमा उनीहरूले नै पोष्ट गरेको वा अरूले गरिदिएको हो भन्ने बारेमा पनि छानबिन गरेर कारबाही अघि बढाइने बताए । निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोसाक वा प्रहरीको चिन्ह प्रयोग गरेर व्यक्तिगत रूपमा खिचेको फोटो वा भिडियो आफू स्वयम्ले सामाजिक सञ्जालमा पोष्ट गर्न नमिल्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले माथिल्लो निकायको निर्देशनअनुसार नै आफूहरूले कडाइ गर्दै आएको बताए । कतिपय प्रहरीले निर्देशन थाहा नपाएर पनि सामाजिक सञ्जालमा हाल्ने गरेको भन्दै नहाल्न निर्देशन दिएको बताए । हेडक्वार्टरकै निर्देशनमा तल्लो तहसम्मका प्रहरीलाई सामाजिक सञ्जालमा टिकटक तथा वर्दीसँगको तस्बिर पोष्ट नगर्न कडाइ गर्न थालेको बताए ।

कडाइ गर्दै प्रहरी
‘सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ । निर्देशिका जारी भएपछि प्रहरीले व्यक्तिगत सामाजिक सञ्जाल चलाउँदा पनि ख्याल गर्नुपर्ने भएको छ ।

निर्देशिकाले प्रहरीलाई सामाजिक सञ्जालहरूमा वर्दीसहितको, ड्युटीमा खटिँदाको र हातहतियार देखिने फोटो प्रयोग गर्न रोकेको छ । निर्देशिकाअनुसार सबै तहका प्रहरीले अदालतमा विचाराधीन मुद्दा, सामाजिक सद्भाव बिग्रने सामग्री र राजनीतिक झुकाव देखिने सामग्री लेख्न वा त्यस्ता सामग्रीमा लाइक, कमेण्ट गर्न नपाइने उल्लेख छ । वर्दीको फूर्ति देखाउन सेल्फी खिच्ने र फेसबुकमा पोष्ट गर्ने काम अब नेपाल प्रहरीमा रोकिने भएको छ ।