धरान/ कोरोना भाइरसको विश्वव्यापी प्रभावले शैक्षिक क्षेत्र ठप्प छ । विद्यालयहरू कहिले खुल्ने टुङ्गो छैन । विद्यार्थीहरू घरमै दिन बिताइरहेका छन् । शिक्षकहरू पनि अन्यौलमा छन् ।

सुनसरीको वराहक्षेत्र–२ मा पर्ने आदर्श माध्यमिक विद्यालयले भने अभिभावक र विद्यार्थीलाई सक्रिय बनाउँदै टोल–टोलमा गृहकार्य कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयले असार १ बाट वराहक्षेत्रका देवीथान, रेललाइन, पुनरवास, विद्यालय क्षेत्र लगायतमा सामाजिक दूरी कायम राख्दै विद्यार्थीलाई जम्मा गर्ने गरेको छ ।

जम्मा भएका विद्यार्थीलाई शिक्षकहरूले पुस्तकका मुख्य पाठका भाग, प्रश्न र उत्तर भएका कागजहरू प्रिण्ट गरेर विद्यार्थीलाई बाँड्छन् । त्यही आधारमा विद्यार्थीहरू घरमै पढेर गृहकार्यका लागि सोधिएका प्रश्नहरूको जवाफ लेख्छन् ।

विद्यालयले कक्षा १ देखि ५ सम्मका लागि दैनिक र कक्षा ६ देखि ११ सम्मका लागि हप्तामा एक पटक गृहकार्य कक्षा सञ्चालन गर्दै आएको छ । लकडाउनका कारण पढ्न नपाएर बसेका विद्यार्थीका लागि यस्तो कक्षा प्रभावकारी भएको विद्यालयका प्रधानाध्यापक प्रल्हाद भट्टराईले बताए । उनका अनुसार यस्ता कक्षामा अन्य समयको भन्दा ६० प्रतिशत विद्यार्थी सहभागी हुने गरेका छन् । उनी भन्छन्, ‘अहिले झरीले गर्दा विद्यार्थी अझै घटेर करिब ४० प्रतिशत उपस्थित भइरहेका छन् ।’

आदर्श नमूना विद्यालयमा छनोट भएको विद्यालय हो । केही समयअघि देशभरका नमूना विद्यालयहरूको जुम मिटिङ भएको थियो । मिटिङमा अबका दिनमा विद्यालय कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भयो । छलफलकै क्रममा आदर्शले नियमित कक्षा लिन नसके पनि समुदायमै गएर महत्वपूर्ण पाठहरू विद्यार्थीलाई बुझाउने र गृहकार्य गर्न लगाउने योजना बनाएको प्रअ भट्टराई बताउँछन् ।

आदर्शले विद्यार्थीहरूलाई सक्रिय गराउन यस्तो उपाय शुरु गरेपछि अन्य सरकारी र निजी स्कुलहरुले पनि यसको सिको गरेका छन् । आदर्शले लकडाउनकै बेला सुरक्षा अपनाउँदै विद्यार्थीहरूलाई पुस्तक वितरण गरेको थियो । अब छात्रवृत्ति पनि समुदायमै गएर वितरण गर्ने योजना रहेको प्रअ भट्टराईले बताए । उनले भने, ‘लकडाउनमा पनि विद्यार्थीलाई सक्रिय गराउँदा अभिभावकहरू खुसी भएका छन् । यसले विद्यार्थीलाई पनि त्यसै बस्नुभन्दा फाइदा पुगेको छ ।’