भद्रपुर / भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पुर्पक्षको लागि झापा कारागार चलान गरिएको छ ।

२०७२ मङ्सिर १० गते गलत विवरणको आधारमा भारतीयलाई नागरिकता बनाइदिएको आरोप लागेका तत्कालिन प्रशासकीय अधिकृत आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको उनलाई अदालतको आदेशमा पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

झापामा बसेर व्यापार व्यवसाय गरेर बस्दै आएका भारतीय नागरिक मुस्तफा आलमलाई ज्यामिरगढि गाविसबाट सिफारिस लिई नेपाली नागरिकता बनाएको आरोपमा फरार रहेका आचार्य असार २० गते पक्राउ परेका थिए ।
जिल्ला अदालत झापाले गत मङ्सिर २ मा पक्राउ पुर्जी जारी गरेकोमा महानगरीय अपराध महाशाखाको समन्वयको जिल्ला टोलीले शनिबार काठमाडौँको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

गाविसको सिफारिसका आधारमा नागरिकता दिने अन्य दुईजनासमेत संलग्न रहेकोले अनुसन्धानमा बाधा पुग्ने भएकोले नाम सार्वजनिक गर्न नमिल्ने उनले जनाए । एउटा मात्र मुद्दा रहेकोले यो विषयमा प्रहरीले आरोपितलाइ खोजिकार्य जारी राखिएको उनको भनाइ छ ।

जिल्ला प्रशासनमा भइरहने यस्ता खाले घट्नामा पछिल्लो समय १६ जना विदेशी नागरिकलाई नागरिकता वनाइदिने स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका कर्मचारी देखी दलाल समेत सम्लग्न रहेका ४६ जनालाइ अदालतले ठहर गरेपछि केही झापा कारागारमा ,केही फरार र केहीले धरौटी रकम बुझाएर छुटेका छन् । फरार रहेका व्यक्तिहरुलाइ प्रहरीले खोजिकार्य जारी राखिएको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

नागरिक चिन्ने भनेको स्थानीय तहले हो, प्रशासन कार्यालयले कागजका आधारमा गर्ने भएकोले स्थानीय तहबाट नै कमजोरी भएकाले यस्ता घटना हुने गरेको प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको भनाइ छ ।