•  खेवाहाङ मेवाहाङ

सङ्खुवासभा / लगातारको वर्षाका कारण पहिरो जाँदा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ स्थित बाला स्वास्थ्य चौकी भवन पुरिएको छ ।
बिहीबार दिउँसो करिब ५० मिटर माथिबाट पहिरो खस्दा भवन पूर्णरूपमा क्षति भएको सिलिचोङ गाउँपालिका–२ का अध्यक्ष मोहन सम्सेर कुलुङले जानकारी दिए । पहिरोले स्वास्थ्य चौकीको भवन पुरिँदा मौतिक संरचनाहरू पूर्णरूपमा ध्वस्त भएको वडाध्यक्ष कुलुङले जानकारी दिए । भवनसँगै स्वास्थ्य चौकी भवनभित्र रहेको औषधिलगायत सम्पूर्ण सामानहरू पुरिएको कुलुङको भनाइ छ ।

स्वास्थ्य चौकीसँगै रहेको कर्मचारी भवनमा भने आंशिक रूपमा क्षति पुगेको छ । स्थानीय तथा प्रहरीको सहयोगमा कुलो खनेर पानी कटाइएको छ । भवनको पछाडिपट्टिको पर्खाल पूर्णरूपमा भत्किएको छ । स्वास्थ्य चौकीभित्र रहेको केही सामग्री सुरक्षित स्थानमा सारिएको छ । चौकीमा रहेको बर्थिङ कक्षलगायतका कक्षहरू पूर्णरूपमा काम नलाग्ने भएका हुन् । चौकीको भवनको माथिल्लो भागमा सडक निर्माण गरिएकोले सोही सडकमा कमजोर माटो भएकोले पहिरो खसेको स्थानीय बुद्धिकुमार मेवाहाङले बताए । उनका अनुसार कमजोर माटो रहेको र रुखहरूसमेत कम भएकोले पहिरो गएको हो ।

पहिरोसँगै झरेका चिलाउनेको रुखका कारण अझ धेरै क्षति भएको अध्यक्ष कुलुङले बताएका छन् । सिसुवाटार प्रहरी चौकीबाट भारी वर्षाका कारण घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । पानी परेका कारण धेरै खोल्सीहरू बढेर तर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् । घटनाबाट क्षतिको पूर्ण विवरण आइसकेको छैन । सिलिचोङ गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो । लगातार पानी परेपछि अन्य स्थानहरूमा पनि पहिरोको जोखिम बढेको छ ।