भद्रपुर / झापाको हल्दिबारी गाउँपालिकाको पाँचौँ गाउँसभा रणमैदानमा परिणत भएको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन नै तोडफोडमा उत्रिएका थिए ।
त्यसक्रममा गाउँपालिकाका उपाध्यक्ष बस्ने कार्यकक्षको सिसा तोडफोड भएको छ । सडक नामाकरणको विषयमा उत्पन्न विवादको क्रममा नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूबीच झडप भएको हो । गाउँसभा चलिरहेको समयमा दुई पक्षबीच विवाद हुँदा गाउँसभा नै बिथोलिएको छ । दुवै पार्टीका कार्यकर्ताहरूले गाउँसभाको सभाहल तोडफोड गरेका छन् । सो क्रममा दुई जना घाइते बनेका छन् । नेपाली काङ्ग्रेसका गाउँपालिका उपसभापति गङ्गाप्रसाद प्रसाईं र काङ्ग्रेसकै वडानम्बर २ का अध्यक्ष भीमराज फ्याक घाइते बनेका हुन् । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरी बस्ने कार्यकक्षको सिसा फुटेको छ ।

हल्दिबारी गाउँपालिका–३, ४ र ५ जोड्ने सडकको नामकरणको विषयमा स्थानीय दलहरूबीच विवाद शुरु भएको थियो । सडकको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्वर्गीय द्रोणाचार्य क्षेत्री राख्नुपर्ने अडान राखेका थिए भने काङ्ग्रेस र राप्रपाले स्व. केशवकुमार कन्दङ्वा राख्नु पर्ने अडान राखेका थिए । सडक नामकरणको विषयमा उत्पन्न विवाद जेठ ८ गते गाउँपालिकाको कार्यपालिका बैठकमा पनि उठेको थियो । जेठ ८ गते गाउँसभाबाटै नामकरण टुङ्गो लगाउनु पर्ने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार बुधबार दिउँसो गाउँसभा शुरु भएको थियो । गाउँसभा शुरु भएलगत्तै काङ्ग्रेस र राप्रपाका कार्यकर्ताहरू भेला भएर सडककै विषयमा ज्ञापन–पत्र बुझाउन गाउँपालिका पुगेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए । उपाध्यक्ष गिरीको प्रस्तुति सकिएपछि काङ्ग्रेस र राप्रपाका कार्यकर्ताहरूले अध्यक्ष रविन्द्र लिङ्देनलाई ज्ञापन–पत्र बुझाउन खोजिरहेका थिए । तर, अध्यक्ष लिङ्देनले ज्ञापन–पत्र बुझ्न मानेनन्, उनले सडकको नामकरणको विषयमा सभामै कुरा राख्न भनेका थिए । ज्ञापन–पत्र नलिएको भन्दै काङ्ग्रेस र राप्रपाका कार्यकर्ताहरू सभा बिथोल्दै एक्कासि तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा नेकपाका कार्यकर्ताले अध्यक्षमाथि आक्रमण गरेका थिए । अध्यक्षमाथि हातपात गरेपछि नेकपाका कार्यकर्ता र ज्ञापन–पत्र बुझाउन आउने समूहबीच झडपको स्थिति बनेको थियो ।
गाउँपालिकामा तोडफोड भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी तत्काल घटनास्थल पुगेका थिए । प्रहरीले गाउँपालिकामा कडा सुरक्षा प्रदान गर्दै तोडफोडमा उत्रिएका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएर माहौल शान्त बनाएका थिए । राप्रपाबाट निर्वाचित अध्यक्ष लिङ्देनसहित ६ जना जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । सडक नामकरणको विषयमा बल्झिएको विवादले गाउँपालिकामा तोडफोड भएपछि उनीहरू गाउँ सभा बहिष्कार गरेर हिँडेका हुन् । अध्यक्ष लिङ्देनसहित वडानम्बर ५ का वडाध्यक्ष शेरबहादुर नेम्वाङ, ४ नम्बर वडाध्यक्ष होमप्रसाद चूडाल र अन्य तीन जना वडासदस्य बाहिरिएका थिए ।

घटनापछि गाउँपालिकाको बहुमत सदस्यद्वारा प्रस्तावित बजेट, नीति तथा कार्यक्रम अध्यक्षको उपस्थितिबिनै पारित गरिएको छ । गाउँसभा चलिरहेको बेला केही अराजक व्यक्तिहरूको समूहले आक्रमण गरेपछि गाउँपालिका अध्यक्ष सभा छोडेर बाहिरिएलगत्तै बहुमत सदस्यले उपाध्यक्ष डम्बरबहादुर गिरीको नेतृत्वमा सभा सञ्चालन गरी प्रस्तावित बजेट, नीति तथा कार्यक्रम पास गरेका थिए ।

यता अध्यक्ष लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरीबीच आरोप–प्रत्योरोप शुरु भएको छ । बुधबारको घटनालाई लिएर लिङ्देनले बिहीबार पत्रकार सम्मेलन गरी सातौं गाउँसभा अवैधानिक भएको दाबी गरे । उनले गाउँपालिकाको उपाध्यक्षको अध्यक्षतामा पारित भएको नीति कार्यक्रम आफूलाई मान्य नहुने जिकिर गरे । लिङ्देनले आफूमाथि आक्रमण र लछार–पछार गर्नेलाई कारबाहीको मागसमेत गरे । उनले आफू अस्पताल गएको समयमा उपाध्यक्षसहित सभाका अन्य सदस्यले नीति तथा कार्यक्रम पारित गरे पनि आफूलाई मान्य नहुने दाबी गरे । अध्यक्ष लिङ्देनले जलथल जङ्गलमा निर्माण गरिएको बाटोको नाममा विवाद भएको स्वीकारे ।

उनले बाटोकोे नाम राख्दा स्थानीय जनताको भावना समेट्नु पर्ने माग गर्दै आएका थिए । उपाध्यक्ष गिरीलगायत हातपात गर्ने सबैलाई मुद्दा चलाउन उजुरी दिइसकेको उनले बताए । उनले घटनाको सबै जिम्मेवारी नेकपाले लिनुपर्ने बताए । गाउँसभामा राप्रपा र नेपाली काङ्ग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै ढुङ्गा प्रहार गरेको उपाध्यक्ष गिरीले बताए । बजेट प्रस्तुत गरिरहेको अवस्थामा बाहिरबाट राप्रपा र काङ्ग्रेस कार्यकर्ताले ढुङ्गा हान्न थालेको उनको आरोप छ । अध्यक्ष लिङ्देनले सभा चलिरहेका बेला सभाभित्रै आफू बसेको कुर्सी अघिल्तिरको टेबल हातले ठोकेर आफै सभा छोडेर बाहिर निस्किएको उनको दाबी छ । सभाध्यक्षज्यू सभाबाट बाहिरिएपश्चात् १ नम्बर प्रदेश सभाबाट जारी भएको गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम गाउँपालिकाका उपाध्यक्षज्यूलाई सभाध्यक्षता गराई प्रस्तावित बजेट र नीति तथा कार्यक्रम सभाबाट पास गरिएको उनको भनाइ छ । सर्वसाधारण सबैको जानकारीका लागि विज्ञप्तिसमेत जारी गरिएको उनले बताए ।

हल्दिबारी गाउँपालिकाका २९ जना जनप्रतिनिधिमध्ये २३ जनाले हस्ताक्षर गरी बुधबार नै विज्ञप्ति जारी गरिसकेका छन् । विज्ञप्तिमा अध्यक्ष रविन्द्र लिङ्देनले बाहिरका मान्छेलाई उकासी हुलहुज्जत गर्न लगाएर हिँडेको उल्लेख गर्दै गाउँपालिकाको सभाहलको सिसा तोडफोड गराएको आरोप लगाइएको छ । गाउँसभा चल्दै गरेको समयमा आक्रमण गर्नेहरूलाई कारबाही गर्न जिल्ला प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उपाध्यक्ष गिरीसहित नेपाल कम्युनिष्ट पार्टी नेकपासम्बद्ध जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।