• अनिल श्रेष्ठ

विराटनगर / वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । आज बिहानदेखि लगातार परेको वर्षाले विराटनरका केही वडाहरु जलमग्न भएको छ ।
पानीको सतह बढेपछि विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । अव्यवस्थित विकास निर्माण र जमेको पानीको निकाश हुन नहुदा महानगरको ६, ११, १२, १६, १७ र १८ वडा जलमग्न भएको हो ।

20200625_084025 नगर क्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारी साधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । घाम लाग्दा बेस्सरी धुलो उड्ने विराटनगरको सडक पानी परेपछि भने हिलाम्य भएको छ । सडकमा कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।

सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ । सडक किनार र पेटीबाट हिँड्ने पैदलयात्रीसमेत गाडीले हिलो छेप्ने डरले जोगिएर हिँड्नुपरेको छ । विराटनगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न हुने गरेको छ ।

20200625_083659

पानीले निकास नपाउँदा सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ । विराटनगरका मुख्य बजार, हिमालय रोड, रंगेली रोड, देवकोटा चोक, अस्पताल चोक, पिचरा, बखरी लगाएतका क्षेत्रहरु बढी प्रभावित भएका छन् ।

एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरू भएयता सामान्य वर्षामा पनि जलमग्न हुने गरेको छ ।

20200625_084017 20200625_083623