भद्रपुर / डिभिजन वन कार्यालय झापाले फलफूलका बिरुवा वितरण शुरु गरेको छ ।
सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटको आधारमा उत्पादन गरिएका बिरुवा सोमबारबाट निःशुल्क रूपमा वितरण शुरु गरिएको हो । केन्द्रबाट १५ हजार र प्रदेश सरकारबाट ७ हजार बिरुवा उत्पादन गरी जम्मा २२ हजार थान वितरण शुरु गरिएको डिभिजन वन कार्यालयका अधिकृत देवेन्द्र उप्रेतीले बताए । सरकारको २२ लाखको स्वीकृत बजेटमा १८ लाख ९६ हजार रकमबाट आर्थिक वर्ष ०७६÷७७ को जिल्लास्तरीय नर्सरी कार्यक्रम रहेको उनले जनाए ।
वितरण शुरु गरिएका आम्प, लिची, कटहर, अम्बा, सरिफा, कागती लगायतका फलफूल रहेको उनले बताए । त्यसैगरी झापामा रहेका ५९ वटा सामुदायिक वनलाई कार्यालयपरिसर र घाटगद्दीको स्थानमा १० वटा बिरुवा अनिवार्य लगाउने योजना ल्याएको उनको भनाइ छ । समूह, सहकारीलाई समेत स्पष्ट विवरण पेश गरेका आधारमा बिरुवा उपलब्ध गराइने उनले बताए ।
व्यवसाय गर्नेलाई विशेष प्राथमिकता दिइएको छ भने व्यक्तिलाई २ देखि ४ वटा बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन प्रमुख विष्णुलाल घिमिरेले बताए । झापाको हम्से–दुम्से, झिलझिले, सुरुङ्गा, डिभिजन वन भद्रपुर, मेचीनगर र जलथलबाट सामाजिक दूरी कायम राखेर वितरणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।