धरान (ब्लाष्ट) धरान–१७ स्थित एन्फा एकेडेमीको क्वारेण्टिनमा रहेका कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।
उनीहरूको पीसीआर जाँचमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाको निगरानीमा वराहक्षेत्रको चतरास्थित होल्डिङ केन्द्रबाट धरानको क्वारेण्टिनमा ल्याइएको थियो । उनीहरूलाई उपचारको लागि प्रतिष्ठानमा ल्याइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
सङ्क्रमित भएकाहरूमध्ये एक जना ४३ वर्षीया छिन् भने एक जना ३७ वर्षीया छिन् । उनीहरू धरान–७ र धरान–१७ का हुन् । जेठ २९ गते नेपाल आइपुगेका उनीहरूलाई धरान भने जेठ ३२ गते ल्याइएको थियो । क्वारेण्टिनमा रहेका ४५ जनाको स्वाब सङ्कलन गरिएकामध्ये दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।