भद्रपुर / झापामा शुक्रबार थप २७ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा झापामा थप २७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । सबै कचनकवलका क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको उनले जनाए ।

कचनकवल गाउँपालिकामै २७ जना थपिएसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ । कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या १०० जना पुगेको छ । 
क्वारेन्टाइनमा बसेका सबै भारतको सङ्क्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडु भन्ने स्थानबाट आएका हुन् ।

गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सय बढी नेपाली नागरिक आइसकेका छन् । यसअघि झापामा बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई/दुई जना , झापा गाउँपालिका र दमक नगरपालिकामा एक एक जना सङ्क्रमित भेटिएका थिए भने भद्रपुरमा एकजना विहीबार पुष्टि भइसकेका छन् ।