धरान / धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको निर्देशनमा ढुंगा, गिट्टी निकासी कर संकलन गर्न बसेका युवामाथि आक्रमण गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वडाअध्यक्ष लिम्बुका कान्छा भाई दिपेश लिम्बु र अर्का अनित लिम्बु रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल धरानले विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष लिम्बुकै निर्देशनमा आक्रमण भएको दाबी गरेका थियो ।
ढुंगा, गिट्टी निकासी कर संकलन गर्न बसेका युवामाथि आक्रमणमा संलग्न भएका दुई जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बुधबार राती ७ बजेतिर गिट्टी बोकेर आएको वडाअध्यक्ष लिम्बुको ट्रिपरले कर काट्न नमानेको बिषयमा विवाद हुदा धरान १५ बगरकोटस्थित भिन्टेज रिसोर्ट अघि दिपेस र अनितले आक्रमण गरेको बताइएको छ । घाइते सुमन धामी, लगायतले वडाअध्यक्षसहित आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।

धरान–५ भिनटेज रिसोर्ट अगाडिपट्टि ढुंगागिट्टीको निकास कर काट्ने क्रममा सुमन धामी र मन्दीप राईमाथि आक्रमण भएको िथयो । करिब १२–१५ जना समूहमा आएका युवाले आक्रमण गरेको पीडितहरूले जनाएका छन् । राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ति प्रकाशित गर्दै नेकपा अन्तर्गतको वाइसिएल नेपालका धरान नगर सदस्यद्वय धामी र राईमाथि धरान–५ का वडाध्यक्षको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ ।

वडाध्यक्ष सन्तोष लिम्बूको निर्देशनमा युवाहरूमाथि आक्रमण भएको भन्दै संघका राजेन्द्र राई र विजय तामाङले विज्ञप्ति प्रकाशित गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए ।