धरान । धरानको बगरकोटभन्दा पारि धरान–५ मा दुई युवामाथि बुधबार आक्रमण भएको छ ।

धरान–५ भिनटेज रिसोर्ट अगाडिपट्टि ढुंगागिट्टीको निकास कर काट्ने क्रममा सुमन धामी र मन्दीप राईमाथि आक्रमण भएको हो । करिब १२–१५ जना समूहमा आएका युवाले आक्रमण गरेको पीडितहरूले जनाएका छन् । राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ति प्रकाशित गर्दै नेकपा अन्तर्गतको वाइसिएल नेपालका धरान नगर सदस्यद्वय धामी र राईमाथि धरान–५ का वडाध्यक्षको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ ।

वडाध्यक्ष सन्तोष लिम्बूको निर्देशनमा युवाहरूमाथि आक्रमण भएको भन्दै संघका राजेन्द्र राई र विजय तामाङले विज्ञप्ति प्रकाशित गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ । युवाहरूले सांघातिक आक्रमणसँगै लुटपाटसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साँझ ७ बजेतिर आक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले निकासी कर लिने युवाहरूमाथि आक्रमण भएको भनेर निवेदन परेको बताए । उनले घटनाको यथार्थ पत्ता लगाउने काम भइरहेको र घाइते युवाहरूको घाउजाँच केस फारम गरिरहेको बताए । ‘घटनाको विषयमा निवेदन आएको छ, यथार्थ के हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’–उनले भने ।