• अनिल श्रेष्ठ

विराटनगर /  विराटनगर – १४ जतुवाका ५५ वर्षीय सेमानन्द यादव हत्या प्रकरणमा मुछिएका विराटनगर महानगरपालिका १८ का वडाअध्यक्ष ३५ बर्षीय संजय साह भन्ने संजयकुमार साह मोरङ अदालतमा बुधबार दिउँसो सुटक्क उपस्थित भएका छन् । मोरङ अदालतको मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेलको इजालशमा अहिले थुनछेक बहस भएको छ । 

हत्या आरोपमा मुछिएका वडाअध्यक्षको अदालतमा बयान सकिएपछि अहिले थुनछेक बहस भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । बादीकोतर्फबाट सरकारी वकिलको कार्यालय मारङका साहयक जिल्ला न्यायधीवक्ता मुकुन्द कुमार रेग्मीले बहस सकेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गर्दै आएका छन् । वादी र प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस सेकेपछि अदालतले आदेश दिनेछ । बुधाबार नै थुनछेक बहस सकिएपछि आदेश आउने अदालत स्रोतको भनाई छ । थुनछेकबाट प्रतिवादीलाई पुपक्षको लागि थुनामा पठाउने, साधरण तारेख वा धरौटिमा छोडने आदेश आउँछ ।

हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएका मध्ये मोरङ जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द यादव केही दिन अगाडी अदालतमा उपस्थित भएका थिए । मोरङ अदालतको न्यायधीश तेजबहादुर खड्काको इजालशले वडाअध्यक्ष यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदशे दिएका थिए । उनी अहिले विराटनगर कारागारमा छन् । हत्या आरोपमा मुछिएका विराटनगर १४ का वडाअध्यक्ष बलदेव यादव फरार छन् ।
विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २६ असारमा मृत्यु भएको थियो ।

यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष ६५ वर्षीय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षिय संजय साह भन्ने संजयकुमार साह, मोरङको जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादव, वडा अध्यक्ष बलदेवका ३० वर्षीय छोरा रविन यादव, विराटनगरका ५५ वर्षीय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षिय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षीय दिपेश यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेश प्रसाद यादव विरूद पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।

हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित १० जना भारततर्फ फरार भएका थिए । उनीहरू विरूद्ध पीडित परिवारले किटानी जाहेरी दिएसँग अभियुक्तहरूलाई खोज्न प्रहरी भारतसम्म पुगेको थियो । तर प्रहरीले उनीहरूलाई पक्रिन सकेको थिएन । उद्यपी सो हत्या प्रकरणका आरोपी विराटनगर १४ का २७ वर्षीय दिपेश यादव गत १८ भदौमा मोरङ प्रहरी कार्यालयमा कानुन व्यवसायीको साथ उपस्थीति भएका थिए । प्रहरीले यादवलाई हिरासतमा राखेर २१ दिन लगाएर अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालय मार्फत प्रहरीले अदालतमा गत १० असोजमा अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशपछि दिपेश कारागार चलान भएका थिए ।