विराटनगर/विराटनगर–१४ जतुवाका ५५ वर्षीय सेमानन्द यादव हत्या प्रकरणका आरोपित विराटनगर महानगरपालिका १८ का वडाध्यक्ष संजयकुमार साहलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

मोरङ अदालतको मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेलकोे इजालशले आरोपित वडाध्यक्ष साहलाई पुर्पक्षको लागि थुनामा राख्न बुधबार आदेश गरेका हुन् । उनी आदेशपूर्व बुधबार अपरान्ह सुटुक्क अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएपछि उनको बयान लिइएको थियो । बयानपश्चात् थुनछेक बहस सुरु भएको थियो ।

मुख्य न्यायाधीश पौडेलले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका सेमानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते बनेका यादवको २६ असारमा मृत्यु भएको थियो । उक्त घटनामा मुछिएका वडाध्यक्षसहित १० जना फरार रहेका थिए ।

उनीसहित ३ जना वडाध्यक्षमाथि हत्याको आरोप लागेको थियो । वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेपछि अदालतले आदेश दिएको थियो । सेमानन्दको हत्यामा विराटनगर महानगरपालिका १४ का वडाध्यक्ष ६५ वर्षीय बलदेव यादव, मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीप भनिने प्रदीपचन्द यादव, वडाध्यक्ष बलदेवका ३० वर्षीय छोरा रविन यादव, विराटनगरका ५५ वर्षीय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षीय विजय भनिने शम्भु यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षीय दिपेश यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षीय दिनेशप्रसाद यादवविरूद्ध पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।

उनको मृत्यु भएलगत्तै उनीहरू फरार रहेका थिए । यद्यपि हत्या प्रकरणका आरोपी मध्येका विराटनगर १४ का २७ वर्षीय दिपेश यादव गत १८ भदौमा मोरङ प्रहरी कार्यालयमा कानून व्यवसायीको साथ उपस्थीति भएका थिए । प्रहरीले यादवलाई हिरासतमा राखेर २१ दिन लगाएर अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले अदालतमा गत १० असोजमा अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अदालतको आदेशपछि दिपेश कारागार चलान भएका थिए । अन्य फरार छन् । उनीहरू भारततर्फ रहेको बुझिएको छ । आरोपी मध्ये मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीप भनिने प्रदीपचन्द यादव पनि केही महिना अगाडि अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशपछि उनी अहिले पुर्पक्षको लागि थुनामा छन् । उनी अहिले विराटनगर कारागारमा छन् ।