लण्डन । बेलायतमा श्रमिकहरूमा भाइरस सङ्क्रमण र मृत्युको बढी जोखिम बेलायतका विभिन्न स्थानमा प्राविधिक रूपमा दक्ष कामदारको तुलनामा निम्न कौशल कामहरूमा खट्ने श्रमिकमा कोरोना भाइरसको बढी जोखिम रहेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार बताएको छ ।

तथ्याङ्कमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकको कोरोना भाइरसका कारण बढी मृत्यु भएको देखिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले आइतबार निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्केर आउन सक्ने तर कार्यालयका कर्मचारीले घरबाटै काम गर्न आइतबार गरेको आग्रहपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त तथ्याङ्कलाई महत्वसाथ सार्वजनिक गरेको हो ।

निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्किन सरकारले गरेको आह्वान भाइरसको फैलावट रोक्न सरकारले सात हप्ता लामोे राष्ट्रव्यापी बन्दाबन्दीपछि लिएको पहिलो कदम हो । सरकारले आवश्यकता र सङ्क्रमणको अवस्थालाई विचार गर्दै चरणबद्ध रूपमा अन्य कार्यक्रमहरू पेश गर्ने विश्वास गरिएको छ । प्रधानमन्त्री जोनसनले सोमबार संसदलाई सम्बोधन गर्दा थप क्षेत्रलाई काममा फर्कनेगरी सार्वजनिक आह्वान गर्ने अपेक्षा गरिएको छ ।

विपक्षी दल र युनियनहरूले काममा फर्केका जनताको सुरक्षाबारे चिन्ता व्यक्त गरेका र नयाँ सिफारिसहरूको बारेमा स्पष्टताको अभाव रहेको बताएका छन् । स्कटल्याण्ड र वेल्सका क्षेत्रीय सरकारहरूले प्रधानमन्त्रीको घोषणा विपरित उनीहरूले उच्च सङ्क्रमण जोखिमको कारण बन्दाबन्दीलाई कायम राख्ने कुरा जनाएका छन् ।