धरान / सधै क्षमता भन्दा बढी थुनुवा राखिने इलाका प्रहरी कार्यालयको हिरासत यति बेला खालीजस्तै बनेको छ ।

साँघुरो हिरासत कक्षमा विभिन्न प्रकृतिका अभियुक्तलाई एकै स्थानमा राखिदैं आएको थियो । तर कोरोना संक्रमणको त्रास र मुलुकमा लकडाउन भए पछि अपराधिक गतिविधी कम भए पछि हिरासतमा थुनुवाहरु कम भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

२०५८ सालमा ४० जना थुनुवा राख्न बनाइएको हिरासतमा विगतमा ६० देखि ९३ जनासम्म थुनुवाहरु राखिदैं आएको थियो । तर यति बेला ६ जना मात्र थुनुवा रहेका छन् । धरानमा लागु औषध, अभद्र व्यवहार, जव्बरजस्ती करणी, लेनदेन, घरेलु हिंसाजस्ता मुद्वा आउने गरेका थिए । यो लकडाउनको अवधीमा भने यस्ता गतिविधी शुन्य प्रायः रहेको डिएसपी न्यौपानेले जानकारी दिए । कहिलेकाही त हिरासत खाली नै हुने गरेकाे उनले बताए । 

हाल हातहातियार, जब्बरजस्ती करणीको मुद्वाका ६ जना थुलुवा रहेको डिएसपी न्यौपानेले जानकारी दिए । ‘अपराधिक गतिविधी कम भएको छ । सबै जनशक्ति हामीले लकडाउन कार्यन्वयन र जनताको शान्ति सुरक्षाका लागि फिल्डमा परिचालन गरेका छौं ।’–डिएसपी न्यौैपानेले भने–‘अपराधिक गतिविधी कम हुँदा हामीलाई लकडाउन कार्यन्वयन गर्न सजिलो भएको छ ।’

डिएसपीको कमाण्डमा धरानमा १२८ प्रहरी परिचालन
धरानमा क वर्गको इलाका प्रहरी कार्यालय रहेको छ । डिएसपीको कमाण्डमा दुई इन्स्पेक्टरसहित १२८ जना प्रहरी जिल्ला प्रहरी कार्यालय सुनसरीले परिचालन गरेको छ । त्यसो त एसएसपीको नेतृत्वमा संघीय इकाइ प्रहरी कार्यालय पनि धरान मै रहेको छ । डिएसपी न्यौपानेका अनुसार ६ र २ नं. वडामा स्थायी चौकी, ११ वटा अस्थायी चौकी स्थापना गरेर धरानका २० वटै वडामा प्रहरी परिचालन गरिएको छ ।

४ वटा गाडीमा, १४ वटा मोटरसाइकलमा र पैदल गस्तीमासमेत प्रहरी परिचालन गरिएको छ । उपमहानगर र सुनसरी उद्योग बाणिज्य संघसँगको सहकार्यले लकडाउन प्रभावकारी कार्यन्वयन भएको डिएसपी न्यौपानेले दावी गरेका छन् ।