लामोसमयदेखि देशमा लकडाउन भएका कारण जनजीवन अस्तब्यस्त भएको छ । आउँदो वैशाख २५ पछि पनि लकडाउनकै क्रम जारी रहने÷नरहनेमा जनताले आआफ्नो अड्कल काट्न थालिसकेका छन् ।

कोरोना रोगभन्दा पनि लकडाउनको त्रासले जनता छटपटाईरहेका छन् । सञ्चारमाध्यमबाट प्राप्त भएको सूचना बमोजिम लकडाउन केही खुकुलो हुन्छ भन्नेमा जनता आशावादी भएका छन् । वैशाख २५ पछि लकडाउन खुकुलो बनाइने सरकारको रणनीति प्रभावकारी भएमा मात्र देश यस संकटको अवस्थाबाट बिस्तारै निस्कन सक्छ । जुन आवश्यक छ । कोरोना संक्रमित अन्य राष्ट्रहरूको तुलनामा हाम्रो देशमा संक्रमणको अवस्था फरक किसिमको छ । देशमा कोरोना संक्रमितहरू तथा संक्रमण हुन सक्ने मानिसहरू कहाँ, कति कुन अवस्थामा छन् सोको लगभग पहिचान भइसकेको हुँदा सरकारले उच्च सतर्कताका साथ त्यस्तो संक्रमित क्षेत्र (रेड जोन एरिया) लाई शिल गरिसकेको छ । शिल गरिएका क्षेत्रलाई अरू केही समयसम्म सोहि अवस्थामा राखी संक्रमण मुक्त भूभाग तथा क्षेत्रलाई ग्रीन जोन तथा संभावित संक्रमण हुन सक्नेलाई एल्लो जोनमा छुट्याई लकडाउन बिस्तारै खुकुलो गर्ने सरकारको नीति जनता तथा राष्ट्रको लागि हितकारी देखिएको छ ।

सरकारले लकडाउन खुकुलो गर्ने क्रममा ग्रीन जोनमा पर्ने सबै जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला गर्नु देशको लागि उपयुक्त भए तापनि यो एउटा ठूलो चुनौतीको विषय पनि हो । रेड जोन एरिया तथा एल्लो जोन एरियाका जनताहरू ग्रीन जोन एरियामा प्रवेश गर्दैनन् वा गर्न सक्दैनन् भनेर भन्न सकिन्न । व्यापार–व्यवसायको शिलशिलामा मालसमान ढुवानी, अत्यावश्यक सामाग्री खरिद गर्न वा कुनै पनि किसिमको सेवा सुविधा लिन सोझै वा लुकिछिपी प्रवेश गर्न सक्दछन् ।

रेड जोनमा परेका कुनै एक जिल्लामा कुनै एक निश्चित भूभाग वा क्षेत्रमा कोरोना संक्रमित देखिएका छन् भने त्यस भूभाग वा क्षेत्रलाई मात्र शिल गरी निश्चित दूरी निर्धारण गरी जिल्ला अन्य भूभाव वा क्षेत्रमा उच्च सतर्कता अपनाई लकडाउन खुल्ला गर्न उपयुक्त हुन्छ ।

लकडाउन खोल्न पूर्व रेड जोन, ग्रीन जोन तथा एल्लो जोनका जनतालाई सार्वजनिक सूचनाको माध्यमबाट आआपूmले अपनाउने निश्चित नियम तथा कानूनको बारेमा जानकारी गराई कडाइका साथ परिपालन गर्न लगाउनु पर्ने हुन्छ । यसको लागि निश्चित दण्ड, सजाय, कैद र जरीवानाको भागीदार हुने समेत जानकारी गराएर मात्र लकडाउन खुकुलो पार्न सकिन्छ ।त्यस्तै भारतसँग भएको खुला सीमा नाकाबाट समेत देशको कुनै पनि भूभागमा स्वदेशी वा विदेशी नागरिक नेपालको कुनै पनि ठाउँ वा भूभागमा छिर्न सक्दैनन् भनेर भन्न सकिन्न । यावत यस्ता विषयहरू गम्भीर रूपमा सोच्नु पर्ने हुन्छ । यस्तो अवस्थामा कुन जोनको नागरिक को हो भनेर पहिचान हुन जरुरी छ । पहिचानको लागि के कस्तो नीति बनाउने हो समयमै तयारी गर्न जरुरी छ । यदि पहिचान गर्न नसकिने अवस्था रहेमा भारतीय सिमानाका वा देशका विभिन्न जिल्ला, भूभाग बीच कसरी नाकाबन्दी गर्ने वा सीमा सुरक्षाको लागि कस्तो संयन्त्र तयार गर्ने यसको लागि उच्च सतर्कताका साथ उपयुक्त रणनीति बनाउन जरुरी छ ।

स्वदेश वा विदेशको कुनै पनि सीमा नाकामा अलपत्र परिरहेका देशका नागरिकहरूलाई निश्चित समय सीमा तोकी समयभित्रै तोकिएको सवारी साधनबाट गन्तब्यमा पु¥याउने ब्यवस्था मिलाउनुका साथै निजहरूको स्वास्थ्य स्थितिको निगरानी राख्नु पर्छ । समयमै नागरिकहरू सुरक्षितसँग आफ्नो घर पुग्न नसकेमा संक्रमणको संख्या अझ बढ्न सक्छ ।

शहर बजारमा सेवा लिने दिने व्यक्तिको पहिचान गर्न नसकिने भएकाले सार्वजनिक सूचनाको माध्यमबाट आआफ्नो गाउँघर वरपर कोही पनि नयाँ व्यक्ति देखा परेमा, थाहा पाइएमा वा आफ्नो या अन्य कोही कसैको घरमा पाहुना आएको बुझिएको खण्डमा तुरुन्त प्रहरी वा प्रशासनमा जानकारी गराउने निर्देशन हुन जरुरी रहेको छ । सम्बन्धित घरवालाले जानकारी नदिएको अवस्थामा वा संक्रमणको कुनै पनि किसिमको त्रास देखा परेमा जेल सजायसम्म हुन सक्ने किसिमको दण्ड जरीवाना तोकिनु पर्छ ।

रेड जोनमा परेका कुनै एक जिल्लामा कुनै एक निश्चित भूभाग वा क्षेत्रमा कोरोना संक्रमित देखिएका छन् भने त्यस भूभाग वा क्षेत्रलाई मात्र शिल गरी निश्चित दूरी निर्धारण गरी जिल्ला अन्य भूभाव वा क्षेत्रमा उच्च सतर्कता अपनाई लकडाउन खुल्ला गर्न उपयुक्त हुन्छ ।

अत्यावश्यक खाद्यान्न तथा औषधिलगायत दैनिक जीवनमा उपभोग हुने वस्तुहरूलाई ढुवानीका साधनबाट भारतको सिमानाका हुँदै देशमा प्रवेश दिँदा वा देशको एक जिल्लाबाट अर्को जिल्ला वा भूभागमा प्रवेश गर्न दिँदा ढुवानी गर्ने चालक तथा सहचालकहरूको आवागमनले फैलन सक्ने कोरोनाको संकटलाई कसरी न्यूनीकरण गर्ने हो यसको विषयमा ध्यान जान अति जरुरी छ ।

कोरोना रोग जति छिटो सजिलै सर्छ त्यतिनै यसको उपचार छिटो हुन सक्दैन । यसको औषधिसमेत नभएको हुँदा यसबाट बच्ने एउटै उपाय सामाजिक दूरी हो जो आफैबाट सम्भव छ । सरकारलाई कतैबाट दोष दिन मिल्दैन । हिजोसम्म जो व्यक्ति, साथीभाइ, इष्टमित्रसँग समाजमा ब्यवहार गरिराखेका थियौंै, आज पनि त्यतिमै सीमित हौ । नयाँ व्यक्तिसँग सके टाढा रहने वा नसके सामाजिक दूरी कायम राख्नु नै फाइदाजनक हुनेछ । एकपटक संक्रमण भएर निको भइसकेका समेतको केही समयपछि रोग बल्झेको देखिन आएकाले लकडाउन खुल्ला भए पनि, ग्रीन जोनमा परे पनि सामाजिक दूरी कायम राख्नु नै समझदारी हुने छ ।