धरान । सालकको खबटासहित पक्राउ परेका धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकका निरज लिम्बू पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालयले निरजविरुद्ध मङ्गलबार मुद्दा दर्ता गरेको थियो । बुधबार भएको थुनछेक बहसपछि उनलाई जिल्ला अदालतका ६ नम्बर बेञ्चका न्यायाधीश खिमानन्द भुषालले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । गत माघ २६ गते निरजलाई धरान–३ बाट आधा केजी गाँजा र ६५० ग्राम सालकको खबटासहित पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेका निरजलाई गाँजा कारोबार मुद्दामा कारबाही गरेको थियो । अदालतले धरौटीमा छाड्न आदेश दिएलगत्तै इप्रका धरानले वैशाख ८ गते सेक्टर वनमा बुझाएको थियो ।

वनले अनुसन्धानपश्चात मङ्गलबार मुद्दा दर्ता गरेको सेक्टर वनका रेञ्जर ईश्वरी बाँस्तोलाले जानकारी दिए । मुद्दा दर्ता गरिएका निरजविरुद्ध बुधबार भएको थुनछेक बहसबाट पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको उनले बताए । ‘पुर्पक्षमा पठाउने आदेश भयो’–उनले फोन सम्पर्कमा भने । सरकारले सालकलाई संरक्षित वन्यजन्तुको सूचिमा राखेको छ । संरक्षित वन्यजन्तुको चोरीशिकार गर्ने तथा अखेटोपहार ओसारपसार गर्नेमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को परिमार्जित ऐन आकर्षित हुन्छ । वनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको सेक्टर वनका रेञ्जर ईश्वरी बास्तोलाले जानकारी दिए ।

साँगुरीगढी खुवाफोकका अभियुक्त निरजले साँगुरीगढीको वन क्षेत्रमा मरेको अवस्थामा सालक भेटिएपछि दबाई हुन्छ भन्ने सुनेका आधारमा लिएर आएको बयान दिएक थिए । धरान–३ मा डेरा गरी बस्दै आएका उनीमाथिको आरो प्रमाणित भएमा संरक्षण ऐनको दफा २६ को १ अनुसार ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै हुने व्यवस्था छ ।