धरान । सालकको खबटासहित पक्राउ परेका धनकुटाको साँगुरीगढी गाउँपालिका–३ खुवाफोकका निरज लिम्बूविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको छ ।
धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालयले लिम्बूविरुद्ध मुद्दा दर्ता गरेको हो । आज थुनछेक बहस हुँदै छ । लिम्बूको साथबाट ६५० ग्राम सालकको खबटा बरामद गरिएको थियो । गत माघ २६ गते आधा केजी गाँजासहित धरान–३ बाट पक्राउ भएका उनलाई इलाका प्रहरी कार्यालय धरानले लागूऔषध कारोबार मुद्दा चलाएको थियो ।
सोही समयमा गाँजासहित सालकको खबटासमेत बरामद गरिएको थियो । उनलाई गाँजा मुद्दामा धरौटीमा छुटेपछि इप्रका धरानले वैशाख ८ गते सेक्टर वन कार्यालयलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अगाडि बढाएको थियो । म्याद थप गर्दै अनुसन्धानपश्चात मंगलबार मुद्दा दर्ता गरिएको सेक्टर वनका रेञ्जर ईश्वरी बाँस्तोलाले जानकारी दिए । उनका अनुसार आज थुनछेक बहस हुँदै छ ।
रेञ्जर बाँस्तोला पाँचकन्या सेक्टर वन कार्यालयका प्रमुखसमेत हुन् । साँगुरीगढी खुवाफोकका आरोपित लिम्बूले साँगुरीगढीको वन क्षेत्रमा मरेको सालक भेटिएपछि दबाई हुन्छ भन्ने सुनेर आफूले लिएर आएको बयान दिएका छन् । उनी धरान–३ मा डेरामा बस्दै आएका व्यक्ति हुन् । सालकलाई लोपोन्मुख प्रजातिभित्र राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण २०३० को दफा २६ (१) कामा आरोप पुष्टि भएमा ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । त्यस्तै ५ वर्षदेखि १५ वर्षसम्म कैद हुने उल्लेख छ ।
दफा १ मा यस्तो छ, ‘गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्रि गर्ने वा ओसारपसार गर्र्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
यस्तै दुई थान भरुवा बन्दुकसहित वन क्षेत्रबाट पक्राउ भएका धरान–१५ का निमा तामाङको पनि अनुसन्धान जारी रेञ्जर बाँस्तोलाले जानकारी दिए ।