धरान । धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालयले राष्ट्रिय वन क्षेत्रमा चोरीशिकार गरिरहेको बेला दुई थान भरुवा बन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
सेक्टर वन कार्यालयले चैत १५ गते नै धरान–१५ का ५९ वर्षीय निमा तामाङलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ गरेका उनलाई वन कार्यालयले इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको थियो । तामाङको साथबाट २ थान भरुवा बन्दुकसमेत समातिए पछि उनलाई हातहतियार खरखजना मुद्दा चलाउनका लागि प्रहरी कार्यालयमा बुझाइएको सव डिभिजन वन कार्यालय पाँचकन्याका प्रमुख ईश्वरी बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । उनी अदालतमा ६० हजार धरौटि बुझाएर छुटेपछि प्रहरीले सेक्टर वनलाई बुझाएको उनले बताए । वनले वन ऐन २०४९ अनुसार आरोपित तामाङलाई कारबाही अगाडि बढाउनका लागि तरहरास्थित वन कार्यालयको चौकीमा राखिएको छ । अब म्याद थप गरेर चोरीशिकारीमा मुद्दा चल्ने प्रमुख बाँस्तोलाले जानकारी दिए ।
मुलुकी अपराध संहित २०७४ को परिच्छेद ६ को दफा १२९ को १ मा स्पष्टसँग ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजत पत्रमा उल्लिखित शर्त तथा बन्देज विपरीत हुने गरी हातहतियार वा खरखजानाको उत्पादन गर्न वा त्यसको मर्मतसम्भार गर्न हुँदैन’ भनेर उल्लेख गरेको छ । सोही परिच्छेदको दफा १३२ को उपदफा २ अनुसार कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ ।
हातहतियार खरखजना मुद्दा नेपाल प्रहरीले चलाउने व्यवस्था छ । सोही अनुसार नै निमा तामाङलाई प्रहरीमा बुझाइएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले वनले पक्राउ गरेर यता पठाएपछि हातहतियार तथा खरखजना मुद्दामा म्याद चलाएको बताए । उनका अनुसार अदालतले शुक्रबार ६० हजार रुपैयाँ धरौटिमा छाडेपछि शुक्रबार नै वन कार्यालयलाई बुझाइदिएको बताए । ‘पक्राउ गरेर हामीकहाँ पठाइएको थियो, हामीले हातहतियार खरखजना मुद्दामा म्याद चलाएका थियौं, अदालतले हिजो नै धरौटिमा छाडेपछि वनको मुद्दा बाँकी रहेकाले वनमा बुझाइएको हो’–उनले फोन सम्पर्कमा भने ।
त्यस्तै वन कार्यालयले साँगुरीगढी गाउँपालिका–३ का २६ वर्षीय निरज लिम्बूलाई सालकको खबटासहित नियन्त्रणमा लिएको छ । उनलाई माघ २६ गते नै ६५० ग्राम सालकको खबटासहित नियन्त्रणमा लिए पनि गाँजासमेत बरामद भएकाले प्रहरीले कारबाही अगाडि बढाएको थियो । ५ सय ग्राम गाँजासहित पक्राउ परेका उनलाई पनि वैशाख ८ गते धरौटिमा छुटे पछि वन्यजन्तु ओसारपसार मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रमुख बाँस्तोलाले जानकारी दिए । उनलाई सात दिनअघि इलाका प्रहरी कार्यालय धरानले वन कार्यालयलाई बुझाएको थियो ।