धरान । कृषि उपज बजार स्थलले तोकेको मूल्यभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री गर्ने धरान–१६ का व्यापारीलाई कारबाही स्वरूप ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
धरान–१६ भीमसेन मार्गका सन्तोष साहले खाद्य पसलमा अनुमतिबिना तरकारी बिक्री गर्दै आएको सोमबारको अनुमगनको क्रममा फेला परेको थियो । उनले २० रुपैयाँ प्रतिकेजी पर्ने बन्दाकोपी ४० रुपैयाँ प्रतिकेजी बिक्री गरिरहेको अनुगमनमा खटिएका सहसंयोजक नेत्र काफ्लेले जानकारी गराएका थिए । उनले सबैजसो सब्जीमा मूल्यभन्दा दोहोरो अङ्कमा बिक्री गरेको खुलेपछि करिब डेढ सय केजी सब्जी जफत गरिएको थियो ।
अनुगमन समितिकी संयोजक तथा धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको संयोकजत्वमा सोमबार अपरान्ह बसेको बैठकले साहलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । व्यापारी साहले पनि आफूबाट गल्ती भएको स्वीकार गरेका थिए । त्यस्तै धरान–९ नम्बर वडाभरि तरकारी बिक्री गर्ने अनुमति पाएको एउटा टेम्पोबाट खरबुजा जफत गरिएको थियो । उसले पनि दोब्बर मूल्यमा बिक्री गरेको पाइएपछि जफत गरिएको सहसंयोजक काफ्लेले बताएका थिए ।
समितिले कालोबजारी गरेको ठहर गर्दै ‘कालोबजारी ऐन’ अन्तर्गत कारबाही स्वरूप ५ हजार रुपैयाँ जरिवाना गरेको सहसंयोजक नेत्र काफ्लेले जानकारी दिए । उनलाई आउँदा दिनमा गलत गतिविधि नर्गनका लागि चेतावनी पनि दिइएको छ । साहले बैठकमा आफूले आइन्दा तरकारी नबेच्ने प्रतिवद्धता पनि गरेका थिए । धरान उपमहानगरले जनतालाई सर्वसुलभ मूल्यमा तरकारी बिक्रीका लागि हरेक दिन मूल्यसूचि अनुरूप तरकारी बिक्री गर्न सम्बन्धित वडाका व्यवसायीहरूलाई अनुमति दिएको छ ।
याे पनि
https://www.blastkhabar.com/news/2020/04/27/113350.html