विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकी १७ वर्षिय एक किशोरीलाई पाँच जनाले सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सामूहिक बलात्कार गरेको तीन महिनापछि घटनामा संलग्न पक्राउ परेका हुन् ।
प्रहरीले बलात्कारमा संलग्न बूढीगंगा–६ का २० वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र दुई जना नावलकलाई प्रहरीले बुधबार राति पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । बलत्कार आरोपमा संलग्न दुई जना नावलक रहेकोले उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ । प्रहरीका अनुसार ती किशोरीमाथि पाँच जना युवा मिलेर गत माघ १५ गते सामूहिक बलात्कार गरेका थिए ।
घटनामा संलग्न थप एक जना फरार रहेका छन् । फरार भएका प्रतिवादीको पनि खोजी कार्य भइरहेको राईले जानकारी दिए । बलत्कार घटना लामो समयसम्म गुपचुप रहेको थियो । बलात्कारमा संलग्नमध्ये एक युवा आएर बुधबार साँझ किशोरीसँग झगडा गरिरहेको गाउँलेले देखेपछि पुरानो घटना सार्वजनिक भएको हो । प्रेमिका बनाएर ती किशोरीमाथि सामूहिक बलात्कार गरिएको घटना लगभग तीन महिनापछि बाहिरिएको छ ।
यसरी बन्याे याेजना
बलात्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवा घर भएका रोशन बूढीगंगास्थित ठूलीआमाको घरमा बस्थे । डीएसपी राईका अनुसार प्रेमको नाटक गर्दै किशोरीलाई प्रेमिका बनाउने काममा लक्ष्मण संलग्न रहेको पाइएको छ । ‘प्रेमको नाटक गर्दै प्रेमिका बनाएपछि दुई जनाबीच मोबाइलमा कुराकानी हुन थालेछ ।
त्यही मौकामा राति लक्ष्मणले जरुरी काम परेको भन्दै घरदेखि तल रहेको फुटबल खेल्ने चउरमा भेट्न बोलाएपछि किशोरी गइन,’ राईले भने, ‘भेट्न लक्ष्मण आफू मात्रै गएनन्, सँगै चार जना साथीहरुलाई पनि लिएर गए ।’ उनका अनुसार दुई जनाको भेट भएर गफ हुँदै गर्दा लक्ष्मणभन्दा केही पछाडि रहेका चार जना साथीहरुले उनकै सहयोगमा किशोरीलाई घिसार्दै मलाहा खोलाको घारीमा र्पुयाएर पालैपालो बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हल्ला गरे हत्या गर्ने धम्की
यो कुरा कोही कसैलाई भनेमा हत्या गर्नेसम्मको धम्की दिइएका कारण डरले किशोरीले माघ १५ गते रातिको घटना भए पनि बाहिर ल्याउन भने नसकेको पाइएको डीएसपी राईले बताए । उनका अनुसार इन्द्र भनिने किशोर राईले बुधबार साँझ घरमै गएर गाली गलौज गर्दै किशोरीसँग झगडा गरिरहेको देखेपछि उनीसँगै वास्तविक कुरा बुझेर गाउँलेले प्रहरीलाई खबर गरिदिएका हुन् । ‘गाउँलेले दिएको सूचनाका आधारमा प्रहरी टोली किशोरीको घरमा पुग्यो।
वास्तविक कुरा बुझ्ने क्रममा लगभग तीन महिना अघि किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाका बारेमा खुल्यो,’ उनले भने, ‘त्यसपछि घटनामा संलग्नमध्ये चार जनालाई पक्राउ गरियो ।’ सामूहिक बलात्कारमा संलग्न विरुद्ध जबरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइने जानकारी प्रहरीले दिएको छ ।