धरान । महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षण बेलायतमा सुरु भएको छ ।
बेलायतको अक्सफोर्डमा पहिलो पटक सम्भावित खोपको मानवीय परीक्षण सुरु गरिएको हो । यदि यो खोप सफल भएमा कोरोनाभाइरस विरुद्धको खोप निर्माण गर्नेमा बेलायत पहिलो हुने छ । दुई जना बेलायती नागरिकमा खोपको परीक्षण सुरु गरिएको छ । उनीहरूले परीक्षणका लागि आफूलाई स्वतन्त्र रूपमा तयार भए पछि खोपको परीक्षण गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
खोप परीक्षणका लागि ८ सयभन्दा बढी मानिसले स्वतस्फूर्त रूपमा नाम लेखाएका थिए । बेलायती सञ्चारमाध्यमका अनुसार त्यसमध्ये आधालाई कोरोनाविरुद्धको सम्भावित खोप दिइने छ । आधालाई भने मेनेनजाइटिसविरुद्धको खोप दिइने भएको छ । जसले कोरोना भाइरस नियन्त्रण गर्ने विश्वास गरिएको छ ।
खोप प्राप्त गर्ने व्यक्तिले भने आफूले कुन खोप प्राप्त गरेको हो भन्ने विषयमा कुनै जानकारी दिइने छैन । खोप प्राप्त गर्नेमध्येकी पहिलो दुईमध्येकी एक महिलाले आफूले वैज्ञानिक कार्यलाई सहयोग गर्नका लागि खोप लगाउने निर्णय गरेको खुलाएकी छन् । उनको नाम एलिसा ग्रानाटो हो ।
अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वमा निर्माण गरिएको खोपको मानवीय परीक्षण थालिएको हो ।