धरान । विश्वभर कोरोना महामारीबाट संक्रमित र मर्नेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा पनि संक्रमितको संख्या २० हजार माथि पुगिसेकेको छ ।

यसैबीच भारतको राष्ट्रपति भवनभित्र पनि कोरोना संक्रमित भएको समाचार बाहिरिएको छ । राष्ट्रपति भवनभित्र रहेका एक जनामा कोरोना संक्रमण भएको पुष्टि आउटलुकले गरेको छ । त्यहाँभित्र रहेका १२५ परिवारलाई नै स्वास्थ्यमन्त्रालयले अनिवार्य रूपमा आफैँ आइसोलेसनमा बस्नका लागि निर्देशन गरिसकेको छ ।

भारतमा हालसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २० हजार ४ जना रहेका छन् । जसमध्ये १५ हजार ४६२ जना संक्रमित छन् भने ३ हजार ९०१ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् । भारतमा हालसम्म ६४१ जनाको ज्यान गइसकेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३६ जना नयाँ कोरोना संक्रमित भेटिएको छ । २४ घण्टामा ४७ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ ।

भारतको महाराष्ट्र र प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा सबैभन्दा बढी संक्रमितहरू भेटिएका छन् । यी दुई वटा राज्यमा पछिल्लो २४ घण्टामा १९–१९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा ५५२ जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म महाराष्ट्रमा २५१ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या महाराष्ट्रमा मात्रै ५ हजार २१८ जना छन् । गुजरातमा २ हजार १७८ जनामा कोरोना संक्रमण भेटिएको छ भने पछिल्लो २४ घण्टामा २३९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हालसम्म ९० जनाले ज्यान गुमाइसकेका छन् ।

महाराष्ट्रका मुख्यमन्त्रीको सुरक्षार्थ खटिएका दुई महिला प्रहरीमा कोरोना पोजेटिभ

महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेको सुरक्षाार्थ खटिएका दुई महिला सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । मुख्यमन्त्री ठाकरेको मुम्बईस्थित आधिकारिक आवसमा खटिएका दुई महिला प्रहरीको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो । त्यहाँ खटिएका अन्य ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।