सप्तरी । छिमकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरु बसेका क्षेत्र आज सिल गरिएको छ । कञ्चनरुप नगरपालिका–१ वैरवा र सप्तकोशी नगरपालिका–१ को मस्जिदमा बसेर गएको पत्ता लागेपछि मस्जिद रहेको मुस्लिम टोलमा आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।
सप्तकोशी–१ स्थित मस्जिदमा गत फागुन १५ र १६ गते सङ्क्रमित १२ जना बसेर गएको प्रत्यक्षदर्शीले बताएको वडा सदस्य जाहिर हुसेनले बताए । वोदे बर्साइन् नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म एक लाख बढीको सहभागितामा धार्मिक सम्मेलन ‘इज्तिमा’ भएको थियो । इज्तिमा पछि ठूलो सङ्ख्यामा जमादी भारतको सभामा भेला भएर धर्म प्रचारका लागि विभिन्न मस्जिदमा गएका बताइएको छ । पछिल्लो पटक कञ्चनरुप–१ को वैरवास्थित मस्जिद हुँदै सप्तकोशी–१ फत्तेपुरस्थित मस्जिदमा बसेका जमादी नै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा भेटिएका मुस्लिम अगुवाहरुको अनुमान छ । गत फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई मस्जिद पुगेका उनीहरु त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको वताइएको छ ।