धरान / कोरोना संक्रमणलाई मध्यनजर गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय बेडकाे आइसोलेसनसहितको कोरोना उपचार केन्द्र बनाउन तयारी थालेको छ । त्यसका लागि प्रतिष्ठानको पूर्व साइटमा रहेको पूर्नस्थापना केन्द्रलाई कोरोना उपचार केन्द्रको रुपमा छुट्टै व्यवस्थापन गर्न लागेको हो ।
पुर्नस्थापना केन्द्रमा अहिले फिजियोथेरापीका सामग्रीहरु छन् । ती सामान हटाउने काम भइरहेको छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका अनुसार सय बेड आइसोलेन बेडमा १० वटा आइसियु बेडको व्यवस्था गरिने छ । यस अघि प्रतिष्ठानले २० वटा बेडको आइसोलेसन वार्ड संचालन गदैं आएको थियो । प्रतिष्ठानमा रहेको पेइङ वार्डलाई आइसोलेसन वार्ड बनाएको थियो ।
उक्त अस्पतालमा एउटा डेडिकेटेट सिटी स्क्यान, अपरेसन थिएटर, एक्स-रे मेसिन छुट्टै व्यवस्था गरिने छ । बैशाख १२ गते सम्ममा तयारी गरि १३ गतेदेखि सेवा शुरु हुने अस्पताल निर्देशक प्राडा गौरीशंकर साहलबे जानकारी दिए ।
यसै गरि प्रतिष्ठानमा विमारीको भीडलाई कम गर्न बैशाख १३ गतेभित्र अनलाइनबाट नै प्रतिष्ठानको विभिन्न सेवा प्रवाह गर्न मोवाइल एप्स पनि तयार भइरहेको प्रतिष्ठानले जनाएको छ । मोवाइल एप्स तयार भएपछि प्रतिष्ठानमा पुर्जी काट्न, विल पेमेन्ट गर्न र ल्याव रिपोर्ट पनि अनलाइनबाट नै लिन सकिने उपकुलपति डा. गिरीले जानकारी दिए ।
प्रतिष्ठानमा बैठक गर्न शैक्षिक कार्यक्रम गर्न जुम सप्टवेयरको प्रयोग गरिने भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरका अनुसार अव कोरोना संक्रमणबाट जोगिन र समयको बचत गर्न आ–आफ्नो कार्यालयमा बसेर छलफल बैठक गर्न सकिने प्रविधी निर्माण गरिएको छ । ‘उपकुलपति ज्युले कार्यालय मै बसेर विभिन्न विभाग, फ्याकल्टीहरुसँग छलफल गर्न सहज हुने छ ।’–डा. ऐरले भने ।