धरान । झापा हल्दिबारीका एक युवामा र्यापिड डाइग्नोष्टिक किट (आरडिटी) विधिमा परीक्षण गर्दा कोरोना पोजेटिभ (संक्रमण भएको) रिपोर्ट आएको छ ।

ती युवा दुबईबाट एक महिनाअघि नेपाल प्रवेश गरेका थिए । उनी घरमै रहेको बताइन्छ । आरडिटी विधिद्वारा जाँच गर्दा उनमा एन्टीबडी पोजेटिभ भेटिएको हो । उनको स्वाबको पिसिआर हुन भने बाँकी छ । यसअघि सप्तरीमा पनि २ जनामा आरडिटीमा पोजेटिभ भेटिए पनि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर गर्दा नेगेटिभ (संक्रमण नभएको) भेटिएको थियो ।

आरडिटीमा पोजेटिभ भेटिए पनि कतिपय अवस्थामा पिसिआरमा नेगेटिभ देखिने गरेको छ । ती युवाको पनि अब पिसिआर गर्ने तयारी भएको छ । उनलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । झापाको हल्दिबारी गाउँपालिकाले अहिले ती युवालाई घरभन्दा बाहिर निस्कन दिएको छैन भने उक्त गाउँ नै अहिले त्रसित बनेको छ ।