धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको महामारीको रोकथाम, नियन्त्रणका लागि निर्माण गरिएको ‘नोबेल कोरोनाभाइरस र्यापिड रेस्पोन्स कमिटी’ पुनर्गठन गरिएको छ ।

हालै नियुक्त भएका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा कमिटी पुनर्गठन गरिएको हो । कोरोनाको नियन्त्रण, रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि पूर्व तयारी र सतर्कता अपनाउन गत माघ १५ गते कमिटी गठन गरिएको थियो । उक्त कमिटीलाई फेरबदल गरेर चैत ३० गते नयाँ कमिटी बनाइएको हो ।

कमिटीको सहअध्यक्षमा शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, सदस्य सचिवमा अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह रहेका छन् । त्यस्तै सदस्यहरूमा सहायक अस्पताल निर्देशक डा. विकास साह, मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्मालगायत २३ सदस्यीय समिति गठन गरिएको हो । यो समितिले अब कोरोनाको नियन्त्रण र रोकथामका लागि विशेष सावधानी अपनाउने भएको छ ।

नेपालमा १६ जनामा कोरोना संक्रमण भेटिएको छ । बीपी प्रतिष्ठानमा बुधबार ६४ जनाको स्वाबको रिपोर्ट आएको छ । जसमा सबैको रिपोर्ट संक्रमण नभएको (नेगेटिभ) आएको छ ।