धरान । विश्वव्यापी महामारीका बेला वैदेशिक रोजगारीमा रहेर फर्किएकाहरूको खोजी गर्दै धरानमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) सुरु गरिएको छ ।

आरडिटी गरिएकाहरूमध्ये सबैको संक्रमण नभएको रिपोर्ट आएको छ । बुधबारसम्म धरान–११, धरान–१६ मा आएका १७ जनाको आरडिटी गरिएको थियो । उनीहरूको संक्रमण नभएको (नेगेटिभ) रिपोर्ट आएको हो । धरान उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले दुई महिलासहित १७ जनाको टेष्ट गरिएको थियो ।

धरान ११ मा एक जना र धरान १६ मा १६ जना विदेशबाट आएका थिए । मेहेताले फोनसम्पर्कमा भने, ‘सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । संक्रमणको लक्षण देखिएन ।’ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमार्फत् आरडिटी किट उपलब्ध गराएको थियो । अहिले विदेशबाट आउनेहरूको पहिचान गर्दै परीक्षण थालिएको छ ।

मंगलबार धरान–१७ मा एक अमेरिकन नागरिकसहित २१ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । १२ महिलासहित २१ जनाको जाँच गरिएको थियो । यस्तै धरानको फुश्रेस्थित सैनिक महाविद्यालयको भवनमा स्थापित क्वारेन्टाइनमा बसेका ३ स्वास्थ्यकर्मीसहित ८ जनाको पनि आरडिटी गरिएको थियो । उनीहरूको पनि संक्रमण नभएको रिपोर्ट आएको छ ।

धरान उपमहानगरकाे तथ्यांकमा विदेशबाट आउनेहरूको संख्या १२५ जना रहेको छ भने जिल्ला प्रशासन कार्यालयले १४६ जनाको नामलिस्ट उपलब्ध गराएको छ । हाल प्राप्त भएका सबैको आरडिटी गरिने भएको छ ।