पूर्वाञ्चलकै गहनाको रुपमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान एक माथिल्लो तहको उपचार केन्द्रको रुपमा स्थापित छ । यस केन्द्रमा प्रदेश १, ३ र ३ का केही जिल्लाका विरामीहरुलाई विशिष्ट उपचारका लागि अन्य साना अस्पतालबाट रिफर गर्ने गरिन्छ, फलस्वरुप प्रतिष्ठानमा बिरामीको चाप अत्याधिक छ । बिरामीहरु पनि आधुनिक प्रविधि मार्फत गुणस्तरीय विशेषज्ञ सेवा पाउने आशामा प्रतिष्ठानमा आउने गरेका छन् भने विद्यार्थीहरु गुणस्तरीय स्वास्थ्य शिक्षा र शीप विकासको पर्खाईमा रहने गरेका हुन्छन् । विगतका केही वर्षमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोचे अनुरुपको कुशल उपकुलपति नपाउँदा शिक्षाको प्राणली प्रभावकारीरुपमा अगाडी बढ्न सकेको छैन् भने अस्पतालको विकास समेत सोचे अनुरुप हुन सकेको छैन् ।

प्रतिष्ठानका तत्कालिन उपकुलपति प्राडा राजकुमार रौनियार भ्रष्टाचार काण्डमा निलम्बित भए पछि प्राडा गुरुप्रसाद खनाललाई प्रतिष्ठानले कार्यबाहक उपकुलपतिको रुपमा पाएको थियो । विगत केही महिनादेखि रिक्त रहेको प्रतिष्ठानको उपकुलपति पदलाई राजनीतिक आधारमा नजर गरिनु नेपालको शिक्षाको विकासलाई एक कदम पछाडि धकेल्नु सरह नै हो । यसै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राडा ज्ञानेन्द्र गिरीलाई उपकुलपतिको रुपमा पाएको छ । प्रतिष्ठानमा भर्खरै नियुक्त भएका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले आपूm पैसा दिएर नियुक्त नभएको अभिव्यक्ति दिए पनि राजनीतिक आधारमा नभएको भन्न नसक्नुले नै उनले राजनीतिक आधारमा नियुक्ति पाएका हुन भनेर सम्झदा हुन्छ । हुन त उनी कुशल र क्षमतावान व्यक्ति नै हुन तर राजनीतिक आस्थायुक्त नियुक्तिको मनोभावले सायद उनलाई सधैं पिरोली रहने छ । हुन त कुनै पनि व्यक्ति कुनै एक राजनीतिक विचारप्रति झुकाव राख्ने भएकोले त्यसलाई नकारात्मकरुपमा विश्लेषण गरिनु पनि गलत होला तर हाम्रो समाजमा विद्वता, क्षमता, व्यक्तित्व, नेतृत्व तथा इमान्दारिता भन्दा पनि राजनीतिक नातावाद बढी हावी हुने गरेको छ जसका कारण प्रतिष्ठानको विकासको आवश्यकता अनुसार उपकुलपति चयन गर्न सकिएको थिएन । बरु राजनीतिक पार्टीको कार्यकर्ताका रुपमा तथा पैसाको आधारमा धेरै उपकुलपतिहरु चयन भएको इतिहास साक्षी छ ।

आधारभूत घरायसी र सरकारी विद्यालयको शिक्षाको बलमा मैले सरकारी कलेजमा प्रविणता प्रमाणपत्र तह र सरकारी प्रतिष्ठान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने मौका पाए र म त्यहाँ रहँदा प्रतिष्ठानलाई भित्रैबाट बुभ्mने मौका पाए, आमन्त्रित सिनेट सदस्यको रुपमा पनि प्रतिष्ठानलाई चियाउने प्रयत्न गरे । मेरो अध्ययन पूरा हुदासम्म प्रतिष्ठान सबल नै थियो, मैले थप एक वर्ष त्यही काम गर्दा पनि प्रतिष्ठान समग्रमा नभए पनि एकान्तमा मुस्कुराई रहेको भान हुन्थ्यो । तर पछिल्ला केही वर्षहरुमा प्रतिष्ठानले अवोगति मार्ग बाहेक अन्य सफलताको मार्ग नै पाउन सकेन किनकी मार्गदर्र्शकहरु नै भ्रष्टचारमा लिप्त भई दिए, विडम्बना ! पछिल्लो समयमा सरकारी विद्यालय भन्दा नाफामा ओतप्रोत निजी विद्यालय तथा कलेजहरु फस्टाइरहेका छन् । देशभरका समग्र चिकित्सा शिक्षा क्षेत्रमा पनि त्यही हविगत स्थापित छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि धेरै विचारहरु उत्कृष्ट रहेको प्राडा गोन्विन्द केसीको विचारलाई फस्टाउन दिइएन राजनीतिक आधारमा उनको राम्रा विचारहरुलाई मरेतुल्य बनाइनु देशको चिकित्सा शिक्षा विकासको लागि विडम्बना हो । तर जे होस अवका दिनमा सरकारी शिक्षा प्रदायक केन्द्रहरुको गुणस्तरीय विकासको विकल्प छैन, त्यसैले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेको स्थानबाट धेरै माथि उठ्न सक्न पर्छ तर यसका लागि नव नियुक्त उपकुलपतिको दायित्व अहम हुनेछ किनकी प्रतिष्ठानलाई माथि उचाल्ने जिम्मा उनकै काँधमा सरकारले दिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चयन भएका उपकुलपतिले कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्दै शैक्षिक विकासमा अग्रसरता देखाउनु जरुरी छ ।

कोरोना कहरले सबै रोइरहेको बेला प्रतिष्ठानको बागडोर सम्हाल्न पाउने विषयले नवनियुक्त उपकुलपतिलाई केही बढी हर्षको साथसाथै जिम्मेबारी बोध भएको पनि होला भने विगत केही वर्ष देखि धारासायी भएर रोई रहेको प्रतिष्ठानको नेतृत्व सम्हाल्न पुग्नु चानचुने विषय अवश्य पनि होईन । प्रतिष्ठानको विकासको लागि सवै पक्षलाई समेटेर लैजानु उनको लागि चुनौतिको विषय हुनेछ । हुन त उनले विगतमा प्रतिष्ठानको सिनेट सदस्यको रुपमा चारवर्ष काम गरिसकेकाले उनले प्रतिष्ठानलाई जाने बुझेका छन् तर पछिल्ला वर्षहरुमा उनी निजी मेडिकल कलेजका प्राध्यापककाे रुपमा कार्य गरिरहेकोले पछिल्ला केही वर्षहरुमा प्रतिष्ठानसँग अनिभिज्ञ नै छन् होला । प्रतिष्ठानमा राजनीतिक तथा बैचारिकरुपमा विभाजित कर्मचारी, नर्स, चिकित्सकलाई आफू अनुकुल बनाउन उनी कत्तिको सक्षम होलान समयले नै बताउला तर उनको ध्यय यसै विषयमा केन्द्रित हुनु पर्छ अनि मात्र सबैको सहयोगको आधारमा प्रतिष्ठानको सर्वपक्षीय विकास सम्भव छ ।

विभिन्न राजनीतिक कारणले अधुरा कामहरु पुरा गर्नु, कर्मचारीहरुको समयानुकुल तलबवृद्धि गर्नु, प्रतिष्ठानको स्पेसियालिटी सेन्टरहरुको स्थापना गनुृ, अधुरो भवनहरुको निर्माण पुरा गर्नु केही आधारभूत कामहरु फलामको च्युरा चपाउनु सरह नै हुनेछ भने असल, इमान्दार तथा प्रतिष्ठानलाई बुझेको व्यक्तिलाई कुलसचिवको रुपमा नियुक्त गर्न सिफरिस गर्नु झन चुनौतिपूर्ण हुनेछ । अझ प्रतिष्ठानको शैक्षिक तथा अनुसन्धान तर्फका विकास तथा स्वास्थ्य सेवा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने अस्पतालको रुपमा रुपान्तरण गर्नु उनको लागि अग्नी परीक्षा हुनेछ ।
अन्तमा, नव नियुक्त उपकुलपति प्रा.डा. गिरी कुन राजनीतिक आस्थाका साथ आए म अव कोट्याउन चाहन्न, म केवल फक्री रहेको वीपी प्रतिष्ठान देख्न चाहन्छु । नव नियुक्त उपकुलपतिले पनि यसको लागि सबै पक्षलाई समेटेर लैजान आजैबाट पहल शुरु गर्नु पर्छ भने विभिन्न राजनीतिक वा बैचारिक ध्येय भएका कर्मचारीहरु वा प्रतिष्ठानसँग सम्बन्ध राख्ने राजनीतिक तथा सामाजिक व्यक्तिहरुले प्रतिष्ठान विकासको लागि सक्दो सहयोग गर्नु आवश्यक छ । प्रतिष्ठानको विकासमा नै सबैको भलो छ, सबैले बुभ्mनु जरुरी छ ।

(साह प्रतिष्ठानको विद्यार्थी कल्याण समाजका संस्थापक महासचिव हुन ।)