धरान । इटहरीस्थित जनता क्याम्पसको क्वारेन्टाइनबाट भारतीय नागरिक फरार भएको विषय गलत भएको पुष्टि स्थानीय सरकारले गरेको छ ।
ती व्यक्ति फरार नभई सुरक्षाकर्मी आएको देखेपछि उनी भागेको स्थानीय सरकार इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले पुष्टि गरेकी हुन् । उनका अनुसार ती भारतीय नागरिक क्वारेन्टाइनमा नरही इटहरी अस्पतालमा द्रुत परीक्षणगरी क्वारेन्टाइनमा पठाउने तयारी भइरहेका सुरक्षाकर्मीलाई देखेर भागेका थिए ।
जनता क्याम्पसमा रहेको क्वारेन्टाइनमा ती व्यक्तिको विवरण लिने क्रममा उनी भागेका थिए । उनी बजारमा मागेर खाँदै आइरहेका थिए । मानसिक सन्तुलन गुमाएका ती व्यक्तिको अन्यत्र नै व्यवस्थापन गर्ने तयारी भएको उपप्रमुख गौतमले जानकारी दिएको इटहरीका प्रेस संयोजक लीला भट्टराईले जनाए ।
जनता क्याम्पसको क्वारेण्टाइनमा खाना र खाजाको प्रबन्ध गरिएको छ । त्यहाँ दुई पटक खाना र दुई पटक खाजाको ब्यवस्था गरिएको छ । क्वारेण्टाइनमा ४ जना स्वास्थ्यकर्मीको समूह परिचालि छ । सीसी क्यामेरा र वाइफाइसमेत जडान गरिएको छ ।