भदपुर / भारतबाट १४ दिन अघि आएका २५ जनालाइ घर पठाइएको छ । भद्रपुर १० स्थित कलबलगुरी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा रहेका उनीहरुलाई मंगलबार बिहान घर पठाइएको हो ।
क्वारेन्टाइनमा बसेका उनीहरूको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किट परीक्षण गर्दा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा बसको व्यवस्था गरी उनीहरूलाई घरमै अरू सात दिन क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाइएको बताए । सिराहा, उदयपुर र सप्तरी, दैलेख, सुर्खेतका नागरिकलाई भद्रपुर नगरपालिकाले बस व्यवस्था गरी पठाएको र केहीलाई सुर्खेत, चौकुने गाउँपालिकाले पठाएको गाडीमा पठाउने व्यवस्था मिलाइएको मेयर श्रेष्ठले जानकारी दिए । लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट हिँडेर आई पूर्वी नाका काँकडभिट्टा, भद्रपुर र दक्षिणी नाकाबाट नेपाल छिरेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको रहेको क्वारेन्टाइन इन्चार्ज क्याप्टेन विजय निरौलाले जानकारी दिए ।
त्यसैगरी काँकडभिट्टामा अलपत्र परेका ६४ जनालाई सोमबार घर पठाइएको छ । भारतबाट आएका उनीहरू होटेलमा बसेका थिए । लकडाउनका कारण उनीहरू त्यहाँ अलपत्रमा परेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सहकार्यमा दुईवटा बसमा घर पठाइएको थियो ।