उदयपुर/उदयपुरको मस्जीदमा फेला परेका १२ जना भारतीय नागरिकको स्वाब नमूना संकलन गरिएको छ ।

त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जीदमा रहेका १२ जना भारतीय नागरिकको मंगलबार स्वाब नमूना संकलन गरिएको हाे । उनीहरूसँगै मस्जिदका अन्य चार जनाको पनि स्वाब नमूना लिइएको छ । मस्जीदका १२ भारतीय र ४ नेपालीको स्वाब नमूना संकलन गरिएको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । सुरक्षाकर्मीहरूसहित मस्जीद पुगेको स्वास्थ्यकर्मीहरूको टोलीले उनीहरूको स्वाब नमूना लिएको उनले बताए ।

उनीहरू धर्म प्रचारका लागि नेपाल आएको थिए । लकडाउन सुरू हुन अघिदेखि नै मस्जीदमा आएको र लकडाउन सुरू भएपछि रोकिएर बस्नु परेको उनीहरूले बताए । मस्जिदमा भारतीय नागरिक बसेको स्थानीयले उजुरी गरेपछि प्रशासनले मस्जीदको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा उनीहरू फेला परेका थिए । उनीहरूलाई होम क्वारेन्टाइनको रूपमा बस्न र गाउँघरतिर हिँडडुल नगर्न प्रशासनले निर्देशन दिएको छ । संकलित स्वाब नमूना परीक्षणको रिपोर्ट आएपछि मात्रै थप कदम चालिने प्रशासनले जनाएको छ ।