एएनआई / भारतमा कोरोना संक्रमणबाट १० हजार ५४१ जना प्रभावित भएका छन् ।  भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३५८ पुगेको छ ।
भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार २०५ जना उपचारपछि फर्किएका जनाइएको छ ।

भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन् । त्यसगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन् । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् ।

गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ,। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । भारतमा संक्रमित बढ्दैं जाँदा खुल्ला सिमाना भएको देश नेपालमा समेत चिन्ता बढेको छ ।