मोरङ । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि राज्यले तेस्रोपटक लकडाउनको समयसीमा थपिरहँदा ग्रामिण भेगका किसान घाँस, दाउरा र पाकेको बालि भित्र्याउन व्यस्त छन् । मोरङको ग्रामिण क्षेत्रका किसानहरू यतिखेर पाकेको बाली र वनबाट घाँस, दाउँरा ल्याउने गरेका हुन् ।

यहाँका किसानहरु एक साता घरभित्रै बसेता पनि अब बिस्तारै खेतमा सुकिरहेको गहुँ काट्न, पाकेको मुसुरीको दाल र घास दाउँरा ल्याउन व्यस्त देखिएका छन् । मोरङ कानेपोखरी ६ की सरीता पराजुलीले पाकेको बाली दाल र गहुँ समयमा नभित्राउँदा पछि बिग्रीने बताइन् । पछि बर्बाद भए भोलि के खाने भन्ने चिन्ता निम्तिने भएकोले समयमै बाली भित्राएको उनले बताइन् ।

सोही ठाउँकी देवी कुमारी श्रेष्ठले धेरै दिन घरमै बसेर बालीनाली बर्बाद भएको देख्न नसक्ने भएकोले समयमै गहुँ भित्र्याउन लागिरहेको बताइन् । ‘सरकारले लकडाउन लगाइरहेको छ तर मान्छे घरभित्र खान नपाएर भोकभोकै बसिरहेका छन् । दैनिक ज्यालादारीमा काम गर्ने झनै पीडित भएका छन,’ उनले भनिन, ‘अब खेतमा काम गर्नुको विकल्प छैन । त्यसकारण खेतमा काम गर्दैछु ।’

उर्लाबारी २ की चन्द्रा श्रेष्ठले घरमा आगो बाल्ने दाउँरा सकिएपछि वनमा भएर घाँस दाउरा ल्याउनु परेको बताइन् । ‘स्कट गरिएको दाउँरा पनि सकियो,’ उनले भनिन्, ‘खाना पकाउन समस्या भएपछि नजिकै रहेको वनमा गएर सुकेको दाउँरा ल्याउने गरेका छौं । यहाँका स्थानिय उपभोक्ता उर्लाबारी २ मा रहेको बेतनी सामुदायिक वनमा घाँस, दाउँरा गर्न जान गरेका गरेका छ ।

वनका अध्यक्ष भिम राईले कोरोनाले गर्दा उपभोक्तलाई जंगल नजान आग्रह गरिएको भएपनि जाने गरेको बताए । अतिआवश्य पर्ने उपभोक्ता जंगल गइहाले पनि उचित सुरक्षा सतर्कता अपनाउनुपर्ने उनले बताए ।

विराटनगरस्थित कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले विदेशबाट आएका कोरोना पीडितले परिवारजन र छिमेकमा कोरोना सार्ने दोस्रो चरणको अवस्थामा नेपाल गुज्रिरहेकोले खेतीपाती गर्ने किसान पनि जोखिममा रहेको बताए । ‘खेतमा काम गर्न सकिन्छ तर सामाजिक दुरी र रूघाखोकीका बिरामीहरूबाट टाढै बस्न ठीक हुन्छ’, उनले सुझाव दिँदै भने, ‘पटकपटक साबुन पानीले हात धुन र मास्क लगाउन पर्छ ।’

किसान तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई खेतमा काम गर्दा कम्तीमा ६ फिटको दुरी कायम गरि काम गरिनुपर्ने चिकित्सवको सुझाब छ ।