काठमाडौं । वैशाख १२ गतेदेखि प्रदर्शन मिति तय गरिएको ‘हिजो आजका कुरा’ दी मुभी कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको छ ।

ल्कडाउनको अवस्था रहेकाले पन्त फिल्म प्रोडक्सनले विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन मिति स्थगित गर्नुपरेको जनाएको छ । बरिष्ठ अभिनेता सन्तोष पन्तको कथा र साकार पन्तको निर्देशनमा बनेको फिल्मको रिलिज मिति यसअघि नै तय गरिएको थियो । तर, अहिलेको विषम परिस्थितिका कारण फिल्म स्थगित गर्नुपरेको निर्देशक साकार पन्तले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर फिल्म प्रदर्शनको तयारीमा रहेको थियो । सरकारको लकडाउन खुलेको अवस्थामा फिल्म प्रदर्शन गर्ने तयारी गरेको भए पनि सरकारले पुनः लकडाउन बढाउने स्थिति सिर्जना भएपछि अचानक स्थगित गर्नुपरेको उल्लेख गरेको छ । सामान्य जनजीवनमा फर्किएपछि मात्रै फिल्मको नयाँ प्रदर्शन मिति तय गरिने जनाइएको छ ।

समसामयिक विषयवस्तुमा निर्माण गरिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जयनन्द लामालगायतको अभिनय रहेको छ । फिल्मको ‘माया जदौ’ गीत युट्युबमा रिलिज गरिएको थियो । हालसम्म ७७ लाख पटक हेरिसकिएको छ ।