बिर्तामोड । कोरोना भाइरसको जोखिमका कारण यस वर्ष बिगत बर्षहरुमा जस्तै सिरुवा पर्व नमनाइने भएको छ । राजवंशी समाज विकास प्रतिष्ठान झापाका अनूसार प्रतिकुल परिस्थितिका कारण यो बर्ष सिरुवा पर्वमा भिडभाड नगर्न अपिल गरिएको छ ।
 
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ प्रेस बिज्ञप्तिमा ध्यानाकर्षण गराउँदै जोखिम मोलेर सांस्कृतिक कार्यक्रम नगर्न प्रतिष्ठानले सचेता गराएको जनाएको छ । प्रतिष्ठानले सोमबारदेखि सुरु हुने राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका जातिको महान पर्व सिरुवा भीडभाड हुनेगरी नमनाउन आग्रह गरेको हो ।
 
सिरुवा आफुहरुको मुख्य चाड भए पनि यस वर्ष हर्षोल्लासका साथ मनाउने नरहेको प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी बताए । उनले सिरुवा मनाउन खोज्दा त्यसबाट आफू, आफ्नो परिवार, समाज, देश र विश्वलाई पर्न सक्ने असरप्रति सजग बन्न आग्रह गरेका छन् ।
 
सोमबार नयाँ वर्ष २०७७ प्रारम्भ भएसँगै सिरुवा पर्व सुरु हुने गरेको छ । उनीहरुले बैशाख १ गते पानी सिरुवा, २ गते काद(हिलो) सिरुवा र ३ गते रंग सिरुवा सामुहिक रुपमा खेल्ने गर्दछन् । यस अवसरमा झापा, मोरङलगायत जिल्लाका विभिन्न स्थानमा सिरुवा सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेका छन् ।
 
तर, यस वर्ष कोरोना संक्रमणका कारण सामुहिक रुपमा सिरुवा खेल्ने तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना नगर्न आग्रह गरेको उपाध्यक्ष इन्द्रसिंह राजवंशीले बताए । अपिलसॅगै कोरोनाकै कारण झापा र मोरङका विभिन्न स्थानमा लाग्दै आएका ऐतिहासिक सिरुवा मेलाहरु यस वर्ष स्थागित गरिएका छन् ।