सिकागो / विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ ।

यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसबाट पीडित हुनेमा पनि सर्वाधिक अगाडि परेको छ । शनिबार सार्वजनिक भएको तथ्यांक अनुसार अमेरिकामा २० हजार ६०८ भन्दा  मृत्यु भएको छ भने सबैभन्दा धेरै मानिसको मृत्यु हुने सहरमा न्युयोर्क परेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अमेरिकामा २० हजार ५८० जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या पनि ठूलो छ । अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा पाँच लाख ५३ हजार ११५ पुगेको छ । तीमध्ये झण्डै दुई लाख जना न्युयोर्कका रहेका छन् ।

तर पछिल्लो समय भने न्युयोर्कमा संक्रमितको संख्यामा कमी आएको बताइएको छ । संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यहरुमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ ।

ट्रम्पले अवस्था सामान्यीकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूची सहितको आफूले गर्नुपर्ने अहिलेसम्मकै ठूलो निर्णय लिने बताउनु भएको छ । कोरोनाका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ ।