वीरगञ्ज । वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।
संक्रमितहरु धर्मगुरु रहेको बताइएको छ । तीनै जना भारतीय नागरिक हुन । उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो। हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दैं आएका थिए ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।